

एक महिनापछि बस्दै गण्डकी प्रदेशसभा बैठक

पोखरा – गण्डकी प्रदेशसभाको बैठक एक महिनापछि बिहीबार बस्दैछ । पोखरा नदिपुरको प्रदेश सभा भवनमा बिहीबार दिउँसो १ बजे बैठक बस्न लागेको प्रदेश सभाले जनाएको छ ।
यसअघि असार २२ गते पछिल्लो पटक प्रदेश सभा बैठक बसेको थियो । गत असार २२ गतेको बैठकमा आर्थिक वर्षको बजेट पारित भएसँगै प्रदेश सभा बैठक बस्न सकेको थिएन ।
चालु आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख बजेट ल्याएको थियो । जसमध्ये चालूतर्फ १२ अर्ब १३ करोड ६७ लाख अर्थात ३८.१ प्रतिशत र पूँजीगततर्फ २० अर्ब १९ करोड अर्थात ६०.४ प्रतिशत छ ।
३३ दिनपछि गण्डकी प्रदेश सभाको बैठक बिहीबार बस्न लागेको हो । प्रदेश सभा बैठकअघि बिहीबार बिहान कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने छ । सोही बैठकले समितिको नाम टुंगो लागे बिहीबार नै बस्ने प्रदेश सभामा समिति गठनको जानकारी गराइनेछ ।

