संखुवासभा कैदी मुत्यृ घटनामा ९ जना पक्राउ


संखुवासभा – जिल्ला कारागार संखुवासभामा दुई कैदीबन्दीको मृत्यु भएको घटनालाई लिएर प्रहरीले ९ जना कैदीलाई नियन्त्रणमा लिएको छ । बुधबार उनीहरुलाई नियन्त्रणमा लिएर छुट्टै ठाउँमा राखिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिएका हुन् ।

कैदीबन्दीहरू संखुवासभा मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो । बुधबार बिहान कारागारभित्र अचेत अवस्थामा फेला परेका उनीहरूको उपचारका क्रममा मृत्यु भएको थियो ।

उक्त घटनापछि कैदीबन्दीहरूले नै आरोप लगाएका ९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अन्य कैदीबन्दीहरूले आरोप लगाएका ९ जनालाई नियन्त्रणमा लिएर छुट्टै स्थानमा राखेको बताएँदै कार्कीले भने, ‘भित्र सुरक्षाको चुनौती हुनसक्ने भएकाले छुट्टै स्थानमा राखेका छौं । उनीहरूको संलग्नता के–कति थियो भन्ने छानबिनपछि मात्रै थाहा हुन्छ ।’

उनका अनुसार दुईजना कैदी बुधबार बिहान २ बजेतिर जेलबाट भाग्ने प्रयास गरेका थिए । उनीहरूले शौचालयको झालको रड काटेर भाग्न लागेका थिए । उनीहरुले भाग्ने प्रयास गरेको थाहा पाएपछि प्रहरीले नियन्त्रणमा लिएर पुनः कारागारभित्र राखेको थियो । बिहान उनीहरू दुबै जना अचेत अवस्था भटिएका थिए ।

प्रतिक्रिया