

भारतमा पहिलोपटक महिलालाई दिइँदैछ फाँसीको सजाय, यस्ताे छ कसुर

काठमाडौं – भारतमा ७ जनाको ज्यान लिएकी एक महिलालाई फाँसीको सजाय दिइने भएको छ । २००८ को अप्रिल महिनामा प्रेमीसँग मिलेर सातजनाको बन्चरोले हानेर ज्यान लिएकी शबनम भारतमा फाँसी सजाय पाउने पहिलो महिला हुनेछिन् ।
उनले परिवारमा प्रेम नस्वीकारेपछि प्रेमी सलीमसँग मिलेर परिवारका ७ जनाको ज्यान लिएकी थिइन् । अब उनीहरु दुवैलाई फाँसी दिन लागिएको भारतीय मिडियामा जनाइएको छ ।
स्वतन्त्र भारतमा अहिलेसम्म कुनै महिलालाई फाँसीको सजाय दिइएको छैन । महिलालाई फाँसी दिन लागिएको देशको इतिहासमै पहिलो पटक हो । यस घटनामा सबै अदालतले फाँसीको सजायलाई यथावत राखेका छन् ।
सर्वोच्च अदालतले फाँसीको सजाय सुनाएकी शबनम-सलीमको दया याचिका राष्ट्रपतिबाट पनि खारेज भइसकेको जनाइएको छ । अहिले फाँसीको मिति तय नभएको र यसको तयारी शुरु गरिएको बताइएको छ । अदालतबाट फाँसीको मिति तय भएपछि उनलाई फाँसी दिइनेछ ।
प्रेमीसँग विवाह गरिदिन परिवारले नमानेपछि शबनमले आफ्ना मातापिता, दाजु, भाउजु, भाइसहित ७ जनाको ज्यान लिएकी थिइन् । अनुसन्धान गर्दा शबनमले ज्यान लिएको खुल्यो ।
मुद्दाको सुनुवाइ चलिरहँदा शबनमले जेलमै सलीमको बच्चा पनि जन्माएकी थिइन् । यो घटना उत्तर प्रदेशको अमरोहामा बावनखेडी गाउँको हो ।

