कांग्रेस कथाः देउवालाई चाहिन्न, पौडेललाई रगरग


काठमाडौं– अघिल्लो महिनाको एक बिहान रामचन्द्र पौडेलको घर पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुगेर भने,‘राष्ट्रपति बन्न पनि त सांसद हुनुपर्छ, प्रचण्डले बनाएर हुने हो र! तपाई सांसद पनि होइन, बनाउने कांग्रेसले हो। तपाई किन उफ्रेको?’

पौडेलसँग भेटेर नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले विघटन गरिएको प्रतिनिधि सभा पुनःस्थापना भए राष्ट्रपति बनाउने आश्वासन मात्र दिएका थिएनन्, कांग्रेसलाई सरकारको नेतृत्व पनि दिने बताएका थिए। तर संयुक्त आन्दोलनका लागि निर्णय गराउनका लागि शर्त राखिदिए।

यसपछि कांग्रेसका बैठकमा पौडेलले प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनमा निर्णय गरेर जानका लागि देउवालाई दबाब दिइरहेका थिए। यति मात्र होइन, पौडेलले तनहुँमा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नै प्रहरीले आफूमाथि हस्तक्षेप गरेको भन्ने ‘इगो’लाई पनि त्यसमा मिसाए।

कांग्रेसका पदाधिकारी बैठकमा अघिल्ला महिनाहरूमा देउवालाई भने,‘ओली जस्ता सर्वसत्तावादीले गरेको निर्णयको विरोध हुनुपर्छ, लोकतन्त्र र संविधान खतरामा परेको छ।’ देउवाले प्रश्न सोझ्याए,‘लोकतन्त्र अनि संविधान कसरी खतरामा परेको छ? चुनाव गर्दा लोकतन्त्र खतरामा पर्छ? चुनावमा जाऔं।’

‘देउवालाई नचाहिएको प्रतिनिधि सभा पौडेललगायत उनका समर्थकलाई किन चाहिएको छ? यहि प्रश्न बुझ्न सकिएन, किन रगरग?’, देउवानिकट एक केन्द्रीय सदस्य भन्छन्,‘चुनावमा गए त पौडेलजीले पनि यहि बेला हो जित्ने।’

कांग्रेसभित्रको यो मन्थन केन्द्रीय समितिको बैठकमा पनि देखियो। बुधबार साँझ भएको बैठकमा देउवाले झोंकिएरै भनिदिए,‘न रामचन्द्र जी न कृष्णप्रसाद जी सांसद हो, म संसदीय दलको नेता चुनाव भनिरहेको छु। अदालतलाई नमान्ने पनि लोकतन्त्र हुन्छ?’

देउवाको जोड त्यतिमा मात्र थिएन। अदालतले पुनःस्थापना नगरे चुनावमा नै जानुपर्ने र त्यसका लागि निर्वाचन आयोगलाई दबाब दिनुपर्ने बताए। अहिले आन्दोलन गर्न सक्ने अवस्था नरहेको पनि देउवाको कथन थियो।

त्यसको केही दिन अघि मात्र भएको सभामा रुपन्देहीमा उभिएका देउवाले ओलीको भन्दा पनि निर्वाचन आयोगको आलोचना गरे। अहिलेसम्म निर्वाचनका कार्यक्रम किन नल्याएको भनी आयोगमाथि प्रश्न गरेका थिए।

विहीबार त उनले पोखरामा मगर संघको कार्यक्रममा खुलेरै भनिदिए, ‘अहिले जुलुस निकाल्न सकिन्न, हामीसँग जुलुस निकाल्ने पैसा पनि छैन। त्यसै आन्दोलन हुन्छ? कराएर हुन्छ? चुनाव भए चुनावमा जानुपर्छ।’

नेपाली कांग्रेसभित्र अदालतमा रहेको विषयमा दबाब दिन नमिल्ने संस्थापन पक्षको भनाई रहँदै आएको छ भने पौडेल पक्षले त सडकमा नै जानुपर्ने जिद्दी गरिरहेको छ।

प्रतिक्रिया