

भारतमा ९४ लाखभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप

नयाँदिल्ली – भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म ९४ लाखभन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ ।
यहाँ कोरोना भाइरस संक्रमितको सङ्ख्या हिजो बुधवारसम्म एक करोड सात ९ लाख ५० हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ८८१ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितकाे सङ्ख्या एक करोड ९ लाख ५० हजार २०१ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीवार जनाएको छ ।
भारतमा गत २४ घण्टामा कोरोना संक्रमणको कारण १०१ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५६ हजार १४ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड ६ लाख ५६ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ३७ हजार ३४२ जना सक्रिय संक्रमित रहेका छन् ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधवार १३४ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधवारसम्म देशभर २० करोड ८७ लाख ३ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बुधवार एकै दिनमा मात्र सात लाख २६ हजारभन्दा बढी व्यक्तिलाई कोभिड–१९ परीक्षण गरेको जनाइएको छ । एजेन्सी

