एआई सम्बन्धी अध्ययन नेपालमै हुने, पाठ्यक्रम तयार


काठमाडौँ – नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी अध्ययन, अध्यापन हुने भएको छ ।

यसका लागि किङ्स कलेज र नेपाल अप्लाइड म्याथमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी)ले एआईसम्बन्धी शैक्षिक पाठ्यक्रम विकास गरिसकेका छन् । साथै ६ महिने कक्षा सञ्चालन गर्ने जानकारीसमेत दिएका छन् । साताको ४ दिन, ९० घण्टाको कक्षा लिन पाइथन प्रोग्रामिङ चलाउन भने जानेकै हुनुपर्ने सर्त राखिएको छ ।

सूचना प्रविधिको अध्ययन–अध्यापनलाई प्राथमिकता दिँदै आएको किङ्स कलेज र एआई शिक्षासम्बन्धी वैज्ञानिक अनुसन्धान गर्ने नामीले एआईसम्बन्धी विशिष्ट तथा एकीकृत पाठ्यक्रम विकास गरी अबको दुई महिनाभित्र शैक्षिक कार्यक्रम सुरु गर्न लागेका हुन् । त्यसका लागि हाल भर्ना प्रक्रिया खुला गरिएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको जानकारी अनुसार कार्यक्रमको पहिलो चरणमा सूचना प्रविधि तथा इन्जिनियरिङ विधामा काम गरिरहेका व्यक्तिलाई प्राथमिकता दिइनेछ । एआईमा रुचि राख्ने जो कोहीले कक्षा लिन सक्ने जानकारी गराइएको छ ।

प्रतिक्रिया