जागिरबाट निकालिए डीएसपी ठगबहादुर


काठमाडौं – गृह मन्त्रालयले सुनकाण्डमा मुछिएका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई सेवाबाट हटाएको छ ।

सुनकाण्डमा मुछिएर निलम्बनमा परेका ईलाका प्रहरी कार्यालय बुटवलका डीएसपी केसीलाई गृहसचिव दिनेश भट्टराईले सचिवस्तरीय निर्णय गर्दै जागिरबाट हटाएका हुन् ।

डीएसपी केसीलाई प्रहरी नियमावलीअनुसार सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । डीएसपी केसीलाई नोकरीबाट हटाएको निर्णयको पत्र प्रहरी प्रधान कार्यालयमा पुगिसकेको बताइएको छ ।

प्रहरी प्रधान कार्यालयले उनलाई सेवाबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । डीएसपी केसीले बुटवलका सुन व्यवसायीबाट ३५ तोला सुन फिर्ता गर्ने शर्तमा ८ लाख ५० हजार रूपैयाँ घुस लिएको र सुन समेत फिर्ता नगरेको ठहर छानबिन समितिको छ ।

गत पुस ११ गते डीएसपी केसी व्यापारीको ३५ तोला सुनसहित पक्राउ परेका थिए । उनले सुन लुटेको आरोपमा तत्कालीन एसएसपी चन्द्रकुवेर खापुंगको नेतृत्वमा छानविन समिति बनाइएको थियो । समितिले केसीले गम्भीर गल्ती गरेको निस्कर्षसहित निकालेको थियो ।

प्रतिक्रिया