

लेखा प्रमुखमाथि हातपात गर्ने तीन जना पक्राउ

काठमाडौँ – लेखापालमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
हुम्लाको सिमकोटमा रहेको नाम्खा गाउँपालिकाको सम्पर्क कार्यालयका लेखा प्रमुख अश्विनीकुमार देवकोटामाथि हातपात गर्ने तीन जना पक्राउ परेका हुन्। शुक्रबार बिहान चार नबज्दै देवकाेटा सुतिरहेको अवस्थामा एक्कासि ढोका खोल्न लगाएर हातपात गरेको उजुरी परेपछि प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईका अनुसार सिमकोट गाउँपालिका- ४ का नुर्बु लामा, दोर्जे लामा र वडा नम्बर ३ को बरगाउँका नीमा लामा नियन्त्रणमा छन्। लेखा प्रमुख देवकोटाले आफूमाथि हातपात गर्दै गरेको अवस्थामा भाग्न सफल भएको बताए।
उनका अनुसार कार्यालय प्रमुखको कार्यकक्षमा भएको कम्प्युटर, प्रिन्टर लगायतका अन्य सामग्रीमा उनीहरूले नाेक्सान पुर्याएका थिए। यो घटनाका सम्वन्धमा तीनजनालाई नियन्त्रणका लिएको र घटनाको थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

