

एसएसपी डा. केसीको पुस्तक सार्वजनिक

काठमाडौं – बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) डा. मनोज केसीको Enhancing Policing in Nepal, Human security informed approach, concepts and implications (नेपालमा प्रहरी पहिचान. मानव सुरक्षा सूचित दृष्टिकोण, अवधारणा र प्रभाव) शीर्षकको पुस्तक सार्वजनिक भएको छ ।
नेपाल प्रहरीको प्रधान कार्यालयमा शुक्रबार आयोजित एक विशेष समारोहबीच उक्त पुस्तक प्रमुख अतिथि प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवर, नेपाली सेनाका अवकाश प्राप्त रथी बालानन्द शर्मा र Pannasastra University of Cambodia अन्तर्गतको Center for Peace & Conflict Studies (CPCS) की अध्यक्ष डा. इम्मा लास्लीले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।
लेखक एसएसपी केसीले आफ्नो विद्यावारिधीको शोधपत्रमा थप अध्ययन अनुसन्धान गरेर किताबको रुपमा प्रस्तुत गरेको जनाउँदै पुस्तक प्रकाशन र आफ्नो अध्ययनका दायरामा परेका विषय बारेमा प्रस्तुतीकरण दिएका थिए ।
कार्यक्रममा पूर्वरथी बालानन्द शर्माले पुस्तकको टिप्पणी गरेका थिए । पुस्तकका बारेमा टिप्पणी गर्दै शर्माले आफू ४० वर्षसम्म नेपाली सैनिकमा काम गरेको र अवकाशपछिको १७ वर्षका अधिकांश समय नेपाल प्रहरीसँग नजिक रहेको काम गरेको प्रसंग ल्याउँदै पुस्तक नेपाल प्रहरी मात्र नभई अन्य सुरक्षा निकायहरुका लागि गतिलो स्रोत बन्नेमा ढुक्क रहेको बताए । उनले प्रहरीसँग सम्बन्धितका शैक्षिक सामाग्रीहरूको अभाव रहेको बताउँदै केही हदसम्म डा. केसीको यो पुस्तकले त्यसको अभाव पूर्ति गर्ने समेत बताए । उनले २६४ पेजको किताबमा १०६ पेजमा डाटा विश्लेषण गरेकोले पाठक वर्गका लागि उपयोगी पुस्तक बन्ने समेत बताए । उनले आफूले पुस्तक पुरै पढेको बताउँदै दोस्रो संस्करणका लागि पनि एसएसपी केसीलाई केही सुझावहरुसमेत दिने जनाए ।
त्यस्तै पुस्तकका बारेमा छोटो टिप्पणी दिँदै सेन्टर फर पिस एण्ड कन्फ्लिक्ट स्टडिज (CPCS), कम्बोडियाकी अध्यक्ष डा. इम्मा लास्लीले आफू एसएसपी मनोज केसीबाट प्रभावित बनेको बताइन् । ६ वर्षअघि केसीले अध्ययनका लागि विश्वविद्यालयमा आवेदन दिँदै गर्दा नेपाल जस्तो मुलुकबाट त्यही पनि प्रहरी कर्मचारीबाट परेको आवेदनबाट आफू उत्साहित भएको बताउँदै यस पुस्तकले नेपाल प्रहरी मात्र नभई नेपालका साथै दक्षिण एसियाका सुरक्षा निकायका लागि सहायक सिद्ध हुने अपेक्षा लिएको बताइन् । उनले डा. केसीले चार वर्षसम्म गरेको अध्ययन, अनुसन्धानको प्रत्यक्षदर्शी आफू रहेको बताउँदै उक्त पुस्तक प्रहरीसम्बन्धी जानकारी लिन चाहनेहरुका लागि उपयोगी हुने समेत जनाइन् ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले संगठनको काम, कर्तव्य पूरा गर्दा–गर्दै संगठनका लागि ज्यादै महत्वपूर्ण मानिएको विषयमा किताब प्रकाशन गरेकोमा एसएसपी डा. केसीलाई बधाई दिँदै नेपाल प्रहरी लाठी र बन्दुकका साथ मात्र नखेल्ने बताउँदै शैक्षिक क्षेत्रमा समेत योगदान गर्न सक्छ भन्ने कुरा प्रमाणित गरेको बताए ।
उक्त अवसरमा आईजी कुँवरले हजारौं पुस्तकहरु प्रकाशन हुने अहिलेको परिवेशमा लेखकले उठाएको विषयवस्तु र त्यसले पार्ने प्रभावले ठूलो महत्व राख्ने बताउँदै संगठनमा कर्तव्य पालनाकै क्रममा गहन विषयमा पुस्तक प्रकाशन गरेकोमा एसएसपी डा. केसीलाई धन्यवाद समेत दिएका थिए ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, पूर्व आईजी अच्युतकृष्ण खरेल, प्रकाश अर्याल, ठाकुर ज्ञवाली, शिक्षाविद् डा. राम थपलिया, अनुसन्धान विभागका निर्देशक, पूर्व प्रहरी अधिकारीहरुलगायतको उपस्थिति रहेको थियो ।
हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाको कमाण्डरको रुपमा कार्यरत डा. केसीले अप्लाइड कन्फ्लिक्ट ट्रान्सफर्मेशन स्टडिजका साथै समाजशास्त्र पनि स्नातकोत्तर गरेका छन् ।

