

रुपन्देहीमा ‘टीभीआरएस’ लागू

भैरहवा – रुपन्देहीमा ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम’ (टीभीआरएस) लागू भएको छ। ट्राफिक नियम उल्लंघन कसुरहरूको जरिवाना बापतको राजस्व संकलनलाई बैंकिङ प्रणालीमा जोड्ने योजना अनुरूप ट्राफिक भायोलेसन रेकर्ड प्रणाली लागू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं प्रहरी निरीक्षक साकार राज पन्तले जानकारी दिए।
प्रणाली लागुले राजस्व संकलनलाई बैंकिङ प्रणालीमा जोड्नुका साथै ट्राफिक नियम उल्लंघनको घटनामा पनि कमी आउने ट्राफिक प्रहरीको विश्वास छ। उनका अनुसार तत्कालका लागि राष्ट्रिय वाणिज्य बैंकको शाखा नजिक रहेको क्षेत्र भैरहवा, बेलहिया, मंगलापुर, बेलहिया र रन्यौरा क्षेत्रमा यो प्रणाली लागू भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको अन्तर्गत बुटवल र देवदह बाहेक अन्य क्षेत्र पर्दछ।
तत्काललाई बैंकमा भौचर मार्फत कसुर अनुसारको जरिवाना रकम बुझाउने व्यवस्था रहे पनि हप्ता दिनमा बैंक साथै मोबाइल/इन्टरनेट बैंकिङ (अनलाइन भुक्तानी) मार्फत पनि जरिवाना बुझाउन सक्ने गरी कार्य भइरहेको प्रहरी निरीक्षक पन्तले बताए। अनलाइनमार्फत जरिवाना बुझाउन सक्ने कार्य सुरु भएपश्चात समग्र जिल्लामा उक्त प्रणाली लागु हुने उनले बताए।
ट्राफिक प्रहरीले सवारी चालक र सवारी साधनको कागजपत्र नियन्त्रणमा लिएर उल्लंघन गरिएको कसुर उल्लेखित २४ घण्टे पुर्जी (चिट) सम्बन्धित सवारी चालकलाई दिने गर्दछन्। त्यसपछि ट्राफिक प्रहरीले उक्त चिटको विवरण प्रणालीको सफ्टवेयरमा इन्ट्री गर्छन्। त्यसपछि कसुर गरेको चालकले बैंक मार्फत सफ्टवेयरमा इन्ट्री अनुसारको उल्लेखित कसुर अनुसारको जरिवाना दाखिला गरेपछि नियन्त्रणमा लिइएको कागजात फिर्ता पाउने गरेका छन्।

