उदयपुरमा सम्बन्ध विच्छेदका घटनामा वृद्धि


उदयपुर – वैदेशिक रोजगार र पारिवारिक कलहका कारण उदयपुरमा बर्सेनि सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन्।

गत आर्थिक वर्षमा अदालतबाट भएका न्याय सम्पादनका विषयमा सोमबार आयोजित पत्रकारसँगको भेटघाटमा ४५५ वटा मुद्दा सम्बन्ध विच्छेदको रहको जनाएको छ।

जिल्ला न्यायाधीश कृष्णप्रसाद सुवेदीका अनुसार दर्ता भएका मुद्दा मध्ये ३३ प्रतिशत सम्बन्ध विच्छेद रहेका छन्। आव ०७९/०८० मा १ हजार ३९२ वटा नयाँ मुद्दा दर्ता र र अघिल्लो आवबाट ६४२ वटा जिम्मेवारी सरी २ हजार ३४ वटा मुद्दा रहेको उनले बताए।

दर्ता भएकामध्ये १ हजार २३६ अर्थात ६० दशमलव २७ प्रतिशत फर्छ्यौट भएको र ८०८ मुद्दा जिम्मेवारी सरेको बताए। अदालतको गत पाँच वर्षको तथ्यांक हेर्दा ०७९/०८० मा सबैभन्दा बढि १ हजार ३९२ मुद्दा दर्ता भएका छन्।

तथ्यांक अनुसार देवानी १ हजार ३०१, सरकारवादी फौजदारी ४१९, दुनियाँवादी फौजदारी २७०, रिट २१ र पुनरावेदन २३ मुद्दा दर्ता रहेको छ। त्यसमध्ये सम्बन्धविच्छेद ४५५, जवरजस्तिकरणी ६०, लागूऔषध ६०, बहुविवाह र बालविवाह १६, घरेलु हिंसा १६ र मानव बेचबिखन ४ रहेका छन्। दर्ता भएकामध्ये सम्बन्ध विच्छेदका ३३६ वटा फर्छ्यौट भएको र ११९ वटा जिम्मेवारी सारिएको न्यायाधीश सुवेदीले बताए।

त्यसैगरी थुनुवा मुद्दा संख्या ९१, थुनुवा संख्या ११२, बाल इजलासबाट सुनुवाइ हुने मुद्दा ५६, जिम्मेवारी सरेका ६४२, नयाँ दर्ता भएका मुद्दाको फर्छ्यौट ७१५, एक वर्ष भित्रका मुद्दा ६७७, अठार महिना भित्रका मुद्दा ८४, १८ महिना नाघेका मुद्दा ४४, दुई वर्ष नाघेका मुद्दा ३ रहेको जनाइएको छ।

सूचना अधिकारी बुद्धराज निरौलाले अदालतको वार्षिक लक्ष्यको कार्ययोजना अनुसार तीन वटा मुद्दा बढि दर्ता भएको र ९४ घटी फर्छ्यौट भएको बताए। तीन जना न्यायाधीश दरबन्दी रहेको अदालतमा सबैभन्दा बढी मुद्दा न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासबाट ६० दशमलव २७ प्रतिशत फैसला भएको उनले बताए।

त्यस्तै मेलमिलापमा आदेश भएका ३६८ मुद्दामध्ये ८० वटा मेलमिलाप भएको र निवेदनतर्फ ३२५ रहेकोमा २२० कार्यान्वयन गरिएको उनले बताए।

फैसला कार्यान्वयनतर्फ कैद र जरिवानाको लगत फर्छ्यौटमा हालसम्म जरिवानातर्फ २१ करोड ७३ लाख २८ हजार ६४० रहेकोमा ३ करोड ७२ लाख ३८ हजार ६३१ रुपैयाँ अर्थात् १७ दशमलव १३ प्रतिशत असुल गरिएको तहसिलदार देवराज भट्टराईले बताए।

त्यस्तै कैदतर्फ हालसम्म २ हजार ७६१ वर्ष ११ महिना २७ दिन रहेकोमा ६२० वर्ष ५ वर्ष १७ दिन अर्थात् २२ दशमलव ४५ प्रतिशत कैद भुक्तान भएको उनले बताए। त्यस्तै कैद जरिवाना लागेका ४ हजार ८५३ जना व्यक्तिमध्ये ३०६ जनाले भुक्तान गरिसकेको उनले बताए।

क्षतिपूर्तितर्फ १ करोड ३७ लाख १४ हजार ८२५ रुपैयाँमध्ये ५ लाख २४ हजार ५० रुपैयाँ भराएको बताए। ‘फैसला कार्यान्वयनका लागि प्रहरीसँग समन्वय गरी अघि बढ्नुपर्ने हुन्छ,’ तहसिलदार भट्टराईले भने, ‘अदालतका लागि छुट्टै प्रहरी छैन, त्यहीँ जनशक्तिबाट काम गर्नु पर्ने भएकाले सबै परिस्थिति मिलाउँदा फर्छ्यौट प्रतिशत घटेको हो।’

कार्यक्रममा बोल्दै न्यायाधीश सुवेदीले एक मुद्दामा प्रतिवादी र अर्को मुद्दामा पीडित धेरै भएका कारण दुई वटा मुद्दा १८ महिना बढी नघाउनु परेको बताए। उनले स्वतन्त्रता र स्वच्छन्दताका नाममा सम्बन्ध विच्छेदका घटनाले प्रसय पाएको बताए।

उनले भने, ‘सकेसम्म पुनः घरवार होस भनेर हामीले मेलमिलाप गराउने प्रयास गरेका छौ, तर परिस्थिति सोचे अनुरूप नभएपछि एउटा निर्णय गर्न बाध्य छौं।’ उनले अदालतले छिटोछरितो र गुणस्तरीय न्याय सम्पादन, न्यायमा पहुँच अभिवृद्धि, न्यायिक सुशासनको प्रवर्द्धन, अदालत व्यवस्थापन सुदृढीकरण र न्यायपालिकाप्रतिको आस्था र विश्वास अभिवृद्धिमा ध्यान दिँदै हरेक किसिमको न्याय तथा कार्यसम्पादन अगाडि बढाएको बताए।

प्रतिक्रिया