
प्रहरीका सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म ९ जनाको विशेष बढुवा
काठमाडौं– नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी संगठनमा विशेष योगदान तथा उत्कृष्ट काम गरेको भन्दै ९ जनाको विशेष बढुवा गरेको छ।
प्रहरी नियमावली २०७१ को नियम ३९ मा उल्लेख भएको विशेष बढुवाको प्रावधानअनुसार यो वर्ष बरिष्ठ सईसम्मका ९ जनाको विशेष बढुवा गरिएको हो ।
वरिष्ठ सईमा विशेष बढुवा हुनेमा तिलराम बोहरा सार्की छन्। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान दरबन्दी भएका बोहराले उत्कृष्ट काम गरेको भन्दै सईबाट वरिष्ठ सईमा बढुवा गरिएको हो।
त्यसैगरी दुई असईलाई सईमा विशेष बढुवा गरिएको छ। जसमा अर्जुन सेट्ठी र वामदेव घिमिरे छन्। सेट्ठी लामो समय जिल्ला प्रहरी परिसर काठमाडौंमा बसेर अपराध अनुसन्धानमा काम गर्दै आएका व्यक्ति हुन्। कोभर्ट अपरेशनमा विशेष योगदान पुर्याएको भन्दै सेट्ठीलाई विशेष बढुवा गरिएको हो।
घिमिरे भने अख्तियार दुरुपयोग अनुसन्धानमाको बुटवल कार्यालयमा रहेर काम गरेका प्रहरी कर्मचारी हुन्।
त्यसैगरी सहायक हवल्दारबाट वरिष्ठ हवल्दारमा ५ जनाको विशेष बढुवा गरिएको छ। वरिष्ठ हवल्दारमा बढुवा हुनेमा सोलुखुम्बु दरबन्दी भएका सुवास नेपाली, सीआईबीमा कार्यरत लक्ष्मण सापकोटा, लागु औषध नियन्त्रण ब्यूरोमा कार्यरत भुदरमणि जोशी, वडा प्रहरी कार्यालय बिर्ता, पर्सा दरबन्दी भएका गन कुमार खण्डलुक र प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन महाशाखा अंगरक्षक गणमा कार्यरत उपेन्द्र चौधरी छन्।
त्यसैगरी प्रहरी प्रधान कार्यालयको मर्यादा पालक इकाइमा कार्यरत प्रहरी जवान लोचन अधिकारीलाई विशेष बढुवा गर्दै सहायक हवल्दार बनाइएको छ।



कागजपत्र |
