सीताको चीर निद्रासँगै स्तब्ध प्रचण्ड परिवार


बुधबार बिहान करिब साढे ७ तिर लामोसमयदेखि ओछ्यान परेकी सीताले असहज महसुस गरिन् । उनले असहज महसुस गरेको आभास हुने बित्तिकै नर्भिक लगियो । जहाँ यसअघि पनि उनलाई असहज हुँदा लगिने गरिएको थियो ।

बालुवाटारबाट अचेत रुपमा निस्किएकी सीताले पुनः बालुवाटार फर्कन पाइनन् । जुन अस्पतालमा ६ वर्ष अघि एकमात्र छोरा प्रकाशको यात्रा टुंगिएको थियो, त्यही अस्पतालबाट उनले पनि ८ः३३ मा जेठी छोरी र छोरालाई पछ्याउँदै ५४ वर्ष अघि जोडिएको प्रचण्डसँगको भौतिक सामिप्यता तोडिन् ।

१० वर्षकै अन्तरमा तेस्रो पारिवारिक वियोग भोगेका प्रचण्डलाई आफ्ना दुई सन्तानको जिम्मा लगाउँदै सीताले आँखा बन्द गर्दै–गर्दा अर्का दुई सन्तानले लिएको बाटो पछ्याइन् । अर्थात् आफूभन्दा ६ महिना कान्छा पुष्पकमलको जीवनमा रंग भर्न १५ वर्षको उमेरमा उनीसँग सिन्दुर लिँदै गोत्र सारेकी सीताले रोजिन् ज्ञानु र प्रकाशकै बाटो ।

सीताको महाप्रस्थानसँगै यी जोडीका चार सन्तान आधा–आधा बाँडिए, सीता जेठी छोरी ज्ञानु र एकमात्र छोरा प्रकाशको साथ दिन पुगिन् भने प्रचण्डका दुई हात रेणु र गंगाको काँधमा अडियो ।

मुलुकको जिम्मेवारी लिँदै नेतृत्व लिइरहेको बेला ५४ वर्षे जीवनका उतारचढावमा हरदम साथ दिइरहेकी जीवनसंगिनी सीतालाई गुमाउन पुगे प्रचण्डले । शायद, त्यो भन्दा बढी पीडादायी क्षण कुनै होइन होला एउटा श्रीमान्का लागि, जसले जन्म घर त्यागेर एक चिम्टी सिन्दुरकै विश्वासमा पराई घर भर्न आएकी हुन्छे ।

ज्ञानु र प्रकाश भाग्यमानी थिए शायद, जसले आमाबाट टाढा भएको अनुभूत गर्नुपरेन यस संसारमा रहुन्जेल । अर्को संसारमा पनि उनीहरुले नै पहिलो साथ पाए आमा सीताको ।

छोरा प्रकाशको अप्रत्याशित र अकल्पनीय प्रस्थानसँगै आफूलाई गाँजेको रोगबाट त मुक्ति पाइन् सीताले तर, त्यो भन्दा पनि पटक–पटक पारिवारिक वियोग भोगेका श्रीमान्लाई थप अर्को वियोगमा पुर्याइन् उनले । सीता अचेत अवस्थामै रहेको बखत पनि मुलुक बनाउन घरबाट निस्किँदै गर्दा र घर फर्केपछि कस्तो भयो होला ? भनेर प्रचण्डले हेर्ने सीताको ओछ्यान खाली भएको छ ।

आज सीता गएको तेस्रो दिन । दैनिक सयौं मानिसहरुले विभिन्न आशासहित छिर्ने र खुशीसहित फर्किने बालुवाटारमा पछिल्ला २ दिन भने मलिन अनुहारहरु छिर्छन् अनि मलिन अनुहारनै फर्किन्छन् ।

उता, ज्ञानु र प्रकाश भाग्यमानी थिए शायद, जसले आमाबाट टाढा भएको अनुभूत गर्नुपरेन यस संसारमा रहुन्जेल । अर्को संसारमा पनि उनीहरुले नै पहिलो साथ पाए आमा सीताको । यता, विगत लामोसमयदेखि भरतपुरका जनताका लागि ‘आमा’को भूमिका खेलेकी रेणु र पछिल्लो समय सीताको अशक्ततासँगै उनकी पनि ‘आमा’को भूमिका निभाएकी गंगाले यस संसार देखाउने आमा गुमाए । अनि प्रचण्डले गुमाए ५४ वर्षे स्वर्णीम जीवनकी सहयात्री ।

सीता ओछ्यान परेदेखिका पछिल्ला ६ वर्ष हरदम प्रचण्डको साथमा रहने गंगालाई पीडा लुकाउन बाध्य पार्दै थप बलियो बन्नुपर्ने अवस्था दिलायो दैवले । दिदी रेणुले भरतपुरलाई कार्यक्षेत्र बनाएपछि पछिल्ला केही वर्षदेखि बुवा प्रचण्डका लागि सहयात्री बन्दै हरेक खुशी अनि दुःखमा साक्षी बन्ने गरेकी गंगालाई अब झन् हरेक पलसँगै हुनुपर्ने दायित्व थपिएको छ ।

सीताको महाप्रस्थानसँगै रेणु र गंगाले कुनै पनि सन्तानका लागि सबैभन्दा महत्वपूर्ण ‘आमा’ भन्ने शब्दबाट टाढा भए । र, प्रचण्डका लागि ५४ वर्षको सुनौला दिनमा बादल मडारियो । र, उनीहरुलाई थपियो बाँकी जीवनमा एकापसका आडभरोसाका केन्द्र बन्ने दायित्व र कर्तव्य ।

यदि भौतिक देह नरहेपछि कहिँ कतै गइने ठाउँ छ र देखिइरहने छ भने सीताले उता आफ्ना प्रिय दुईको हेरचाह गरिरहेकी होलिन् भने प्रचण्डले यता । अनि उनीहरु दुवैलाई पनि २/२ सन्तानले आड भरोसा र सहारा दिनेनै छन् अवश्य ।

आफ्ना प्रिय २ सन्तानको साथ दिन यताको संसार छाडेकी आमा सीताप्रति श्रद्धाञ्जली, यो अकल्पनीय पीडामा रहेर मुलुकको नेतृत्व गरिरहेका दुई सन्तानसहितका प्रचण्ड परिवारप्रति हार्दिक समवेदना !

प्रतिक्रिया