

प्रहरी संगठन रुपान्तरणको उपयुक्त अवसर : आईजी कुँवर

काठमाडौँ – प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरले प्रहरी सङ्गठनको सुधार र रुपान्तरणका लागि अहिले उपयुक्त अवसर रहेको बताएका छन् । आज प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट आयोजना गर्दै उनले प्रहरी सङ्गठनलाई राजनीतिक नेतृत्वबाट राम्रो सहयोग प्राप्त भएको पनि स्पष्ट पारे ।
उनले सङ्गठनको रुपान्तरण र विकासका लागि वातावरण राम्रो रहेको तर साधनश्रोतको कमी र राष्ट्रको ढुकुटी रित्तिएका बेला चुनौती भने धेरै रहेको बताए । सामान्य नीतिगत निर्णय गरेर के गर्न सकिन्छ भन्ने कुरामा आफू गम्भीर रहेको उनको भनाइ छ ।
वर्तमान समयमा गृह मन्त्रालयको नेतृत्व आक्रामकरूपमा लागे पनि अन्य क्षेत्रबाट विविध सीमाका कारण पनि अपेक्षा पूरा हुन नसकेको उनले बताए ।
साइबर अपराधको विषयमा पत्रकारको जिज्ञासामा महानिरीक्षक कुँवरले जिल्ला जिल्लाबाट साइबर अपराधको मुद्दा अघि बढाउने भन्ने सरकारको निर्णय रहेकाले त्यसमा चुनौती रहेको र त्यसका लागि आवश्यक मार्गदर्शन निर्माण गर्ने चरणमा रहेको जानकारी दिए । उनले आइटीसँग सम्बन्धित प्रहरीलाई तालिम दिलाएर आवश्यक प्रक्रिया अघि बढाउन लागिएको बताए ।
उनले प्रहरी समायोजनको विषय सरकारको योजनामै रहेको र सरकारको निर्देशन बमोजिम गम्भीरतापूर्वक अघि बढाउने बताए । महानिरीक्षक कुँवरले सङ्गठनमा आफ्नो कुनै स्वार्थ नरहेको तर केही जिज्ञासा भएमा सिधा फोनबाट जानकारी लिन सकिने पनि बताए । समाज सुधार तथा शुसासन कायम गर्नका लागि होस्टेमा हैँसे गर्न आफू तयार रहेको उनले प्रतिबद्धता जनाए ।
उक्त अवसरमा आईजी कुँवरले अहिलेको समयमा प्रधानमन्त्री र गृहमन्त्रीबाट अपराध अनुसन्धानमा हस्तक्षेप नरहेको जनाउँदै पूर्णरुपमा सहयोग पाएको समेत बताए ।
प्रहरीको वृत्ति विकासका सम्बन्धमा सोधिएको प्रश्नमा आईजी कुँवरले कतिपय योजनाहरु रहे पनि आर्थिक स्रोतको अभावले गर्न नसकिएकोमा गुनासो समेत पोखे । उनले भने, ‘नीति र योजना बनाए पनि आखिर चाहिने भनेको पैसा रहेछ, त्यसका लागि अहिलेको परिवेश नै यस्तै छ ।’ उनले तल्ला तहका प्रहरी कर्मचारीहरुको अवकाशको समय १६ वर्ष बनाउनेतर्फ कार्ययोजना अन्तिम अवस्थामा पुगेको पनि उक्त अवसरमा जानकारी गराए ।
उक्त अवसरमा सञ्चारकर्मीले सोधेको अधिकांश प्रश्नको जवाफ केन्द्रीय प्रवक्ता डिआईजी कडायतले दिँदै गर्दा केही प्रश्नको जवाफ भने आईजी कुँवरले आफैं दिएका थिए ।
उक्त अवसरमा आईजी कुँवरले पद बहाली गरेदेखि तीन महिना अवधिको कार्यप्रगतिको पनि प्रस्तुति दिइएको थियो । ३ महिनाको कार्य प्रगतिका बारेमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डिआईजी) कुवेर कडायतले प्रस्तुती दिएका थिए । भने त्यसअघि नेपाल प्रहरीको कार्ययोजना २०८० का बारेमा अन्वेषण योजना तथा विकास निर्देशनालयका डिआईजी विष्णुबहादुर केसीले प्रस्तुती दिएका थिए ।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लगायत उच्च पदस्थ प्रहरी अधिकारीहरुको उपस्थिति रहेको थियो ।

