प्रधानमन्त्रीको राजीनामा कल्पना पनि गर्न सकिँदैनः माओवादी प्रमुख सचेतक पाण्डे


काठमाडौं– नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीको राजीनामा कल्पना पनि गर्न नसकिने बताएका छन्। बिहीबार बसेको सत्ता गठबन्धनको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले आफ्नो विषयवस्तु सदनमा भन्ने बताए।

‘हिजो जसरी संसद् अवरुद्ध भयो, त्यसका बारेमा गठबन्धनको बैठक बस्यो। अहिले प्रधानमन्त्रीज्युले राजीनामा गर्नुपर्छ भन्ने जुन कुरा आयो, त्यो त कल्पना पनि गर्न सकिँदैन। उहाँले के भन्नुभएको हो भन्ने बारेमा प्रधानमन्त्रीज्यूले संसद्‌मा आफ्ना विषयवस्तु राखिहाल्नुहुन्छ,’ पाण्डेले भने।

एउटा भावनात्मक विषयवस्तु, कतै अर्कै प्रसंगमा, व्यक्तिगत कुरा, त्यो पनि धेरै वर्ष पहिलाको कुरा ल्याएर बेठीक गरिएको उनले बताए।

एमालेले प्रधानमन्त्रीको स्पष्टीकरण नभइ राजीनामा चाहिएको भनेर दिएको अभिव्यक्तिप्रति उनले कटाक्ष गरे। प्रधानमन्त्रीले नै संसद्‌मा बोल्न नपाउने हो भने कसले पाउँछ भन्ने उनको प्रश्न थियो।

असार १८ गते भारतीय व्यापारी प्रितम सिंहमाथि उनकी छोरी किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिको आलोचना भइरहेको छ। त्यहाँ प्रचण्डले प्रितम सिंहले राजनीतिमा पनि रुचि राख्ने र आफूलाई प्रधानमन्त्री बनाउन एक पटक धेरै मेहनत गरेको बताएका थिए। ‘धेरैचोटि दिल्ली जानु पनि भयो। काठमाडौंका कैयौँ पार्टीहरुलाई, नेताहरुलाई, पार्टीहरुसँग पनि उहाँ लगातार छलफल गर्नुभयो,’ उनले भनेका थिए।

प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर  बुधबार नेकपा एमालेले राष्ट्रिय सभा र प्रतिनिधि सभा अवरुद्ध पारेको थियो। दुवै सदनमा उसका तर्फबाट राजीनामा समेत माग भएको थियो।

प्रतिक्रिया