प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा छैनः प्रचण्ड


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा नरहेको बताएका छन् ।  भरतपुर विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै दाहालले आगामी प्रतिनिधिसभा  निर्वाचन पनि नहुने विचार व्यक्त  गरे ।

उनले भने, ‘चुनाव हुँदैन, प्रष्ट भए हुन्छ, यो चुनाव हुनका लागि गरिएको कदम नै होइन ।’ लामो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धि अहिले धरापमा रहेको जनाउँदै उनले संविधान र लोकतन्त्रको रक्षाका लागि नै आफूहरु आन्दोलनमा रहेको बताए ।

विभिन्न जिल्लामा विरोधसभा भइरहेका सन्दर्भमा चितवनमा यही फागुन १२ गते हुने सभामा उनले सम्बोधन गर्ने जनाइएको छ ।

पूर्वप्रधानमन्त्री दाहाल सोमबार दिवङ्गत आफ्ना सम्धी भरतपुर महानगरपालिका वडा नं ७ निवासी नरबहादुर केसीप्रति श्रद्धाञ्जलि अर्पण गर्न यहाँ आएको परिवारजनले जनाएको छ । दाहाल सोमबार नै काठमाडौँ फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया