

पाल्पामा मनाइयो धान दिवस, १० प्रतिशत मात्र रोपाइँ

तानसेन – समयमा पानी नपरेपछि असार १५ गतेसम्म पाल्पामा १० प्रतिशत मात्र रोपाइँ भएको छ । असार १५ गते बाट लगातार झरी परेपछि कृषक फाँटमा झरेका छन् । पाल्पामा २० औं धान दिवस माडी फाँटको खेतमा रोपाइँ गरी मनाइएको छ ।
कृषि ज्ञान केन्द्र पाल्पा,तानसेन नगरपालिका र मदनपोखरा बहु प्राविधिक शिक्षालयको संयुक्त आयोजनामा पाल्पामा धान दिवश मनाइएको हो । जलवायु अनुकुलित कृषक मैत्री प्रविधी धान उत्पादनमा वृद्धि नाराका साथ पाल्पाको माडी फाँटमा धान दिवश मनाइएको हो ।
लामो समय खेडेरी परी व्याड समेत राख्न नपाएका पाल्पाली कृषक असार १५ कै दिन लामो वर्षा भएपछि राहत महशुस गरेका छन् । खेडरीको कारण धान रोपाइँ गर्न नपाएका पाल्पाली कृषक धान दिवसको अवसरमा पर्याप्त वर्षा भएपछि रोपाइँको लागि खेत खेतमा पुगेका छन् ।
मानो रोपेर मुरी उब्जाउने असार महिना जलवायु परिवर्तनको लागि समयमा वर्षा नहुँदा कृषक चिन्तित बनेका थिए । असार १५ को अवसरमा जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु एक पाल्पाको माडी फाँटमा एक आपसमा हिलो छ्यापेर मनाएका छन् ।
कसैले धान रोप्ने,कसैले असारे गीत गाउने,कसैले जोत्ने,कसैले धानको बिउ बोक्ने, कसैले खेतको गरा मिलाउने,कसैले फोटो खिच्ने कोही नाचेर पाल्पामा धान दिवस मनाएको हो । पाल्पामा ८ हजार २ सय १० हेक्टरमा वर्षे धान खेती र ६ सय १० हेक्टर चैते धान खेती हुने गरेकोमा यस वर्ष रोपाइँ निकै कम भएको कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख कामना अधिकारीले बताइन् ।
पाल्पामा माडी फाँट,रामपुर फाँट,कचल फाँट,अर्गली फाँट,झडेवा फाँट,छेरलुङ्ग फाँट,पूर्वखोला,सर्देवा फाँट धान खेती हुने गर्दछ । पाल्पामा दोस्रो खाद्यान्न बालीको रुपमा धान खेतीलाई लिने गरिन्छ । कृषकले प्रयाप्त रासायनिक मल समेत नपाएको गुनासो गरेका छन् ।

