

धौलीगंगा बाढीमा मृत्यु भएका आठ नेपालीमध्ये तीनको सनाखत

चमोलिया – भारतको उत्तराखण्डस्थित चमोलिया जिल्लामा पर्ने धौलीगंगामा आएको बाढीमा परेर मृत्यु भएकामध्ये तीन जना नेपालीको सनाखत भएको छ।
मृत्यु भएका तीनै जना कैलालीको टीकापुर नगरपालिकाका हुन्। भारतको देहरादुनस्थित पत्रकार महेश पाण्डेयले दिएको जानकारी अनुसार, बाढीमा परी मृत्यु हुनेमा टीकापुरका सोहन चौधरी, शंकर चौधरी र विष्णु मल्ल छन्।
विपद् व्यवस्थापन केन्द्र उत्तराखण्डका अनुसार, बाढीमा परेर आठ नेपालीको मृत्यु भएको छ। अहिलेसम्म ४१ जनाको शव प्राप्त भएको छ। तीमध्ये २४ जनाको मात्र सनाखत भएको छ।
गत २५ माघ आइतबार हिमनदीको माथिबाट खसेको पहिरोका कारण धौलीगंगामा बाढी आउँदा विद्युत्गृहमा काम गरिरहेका मजदूरहरु बाढीको चपेटामा परेका थिए। बाढीमा परेर १८७ जना हराइरहेको विपद् व्यवस्थापन केन्द्र उत्तराखण्डले जनाएको छ।

