भिजिट भिसामा विदेश : विमानस्थलमा मानव बेचबिखन ब्यूरोको सक्रियता

जेठ महिनामा मात्रै ९ सय ८८ जना फर्काइए


काठमाडौं – पछिल्लो समय भिजिट भिसामा वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काउने क्रम बढिरहेको छ । मानव तस्करी तथा नक्कली श्रम स्वीकृतिका सन्दर्भमा शंकाको घेरामा परेकालाई दैनिकजसो फर्काउने गरिएको हो ।

विमानस्थलमा खटिएको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले जेठ महिनामै मात्र ९ सय ८८ जनाको राहदानी नियन्त्रणमा लिएर फर्काएको छ । शंकास्पद कागजपत्र बोकेर भिजिट भिसामा विदेश जान लागेका ५६० महिला र ४२८ जना पुरुषलाई ब्युरोले विमानस्थलबाट फर्काएको हो ।

त्यस्तै ३२ जेठमा मात्रै विभिन्न मुलुकमा भिजिट भिसामा जान लागेका २३ जनालाई ब्युरोले परामर्श दिएर फर्काएको ब्युरोको तथ्यांकमा उल्लेख छ । जसमा ७ जना महिला र १६ जना पुरुष रहेको ब्युरोले जनाएको छ ।

त्यसैगरी ब्युरोले राखेको रेकर्डअनुसार एक हप्तामै मात्र (२५ जेठदेखि ३२ गतेसम्म) ३५५ जनालाई फर्काएको तथ्यांक छ । जसमा १५६ जना पुरुष र १९९ जना महिला रहेका छन् । मानव बेचबिखनको जोखिममा देखिएकाहरूलाई फर्काएको ब्युरोले जनाएको छ ।

ब्युरोका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठका अनुसार फर्काइएकामध्ये धेरैजसो संयुक्त अरब इमिरेट्स, कुवेत, ओमान र केही युरोपियन देश जान लागेका व्यक्तिहरु हुन् । विदेश जान लागेका ती व्यक्तिहरुलाई सामान्य विषयमा समेत जानकारी नभएको पाइएको एसएसपी श्रेष्ठले बताए ।

आफू जान खोजेको देश समेत कुन हो भनेर थाहा नभएको व्यक्ति समेत विदेश जान खोजेको पाइएको एसएसपी श्रेष्ठले बताए । एसएसपी श्रेष्ठकाअनुसार गएर कहाँ बस्नेजस्ता सामान्य विषयमा पनि अधिकांश व्यक्तिहरुलाई जानकारी थिएन ।

खाडी मुलुकमा घरेलु कामदारका रूपमा महिलालाई लैजान प्रतिबन्ध छ । तर, उनीहरूलाई भिजिट भिसामा लगेर त्यहाँ काममा लगाउने गरिन्छ । काममा लगाउनुअघि उनीहरूको त्यहाँ बेचबिखन हुने गरेको प्रशस्त उदाहरणहरु छ ।

भिजिट भिसाको नाममा मानव तस्करी गर्ने समूहले त्यसरी खाडीमा नेपाली पठाउन खोजेको प्रहरीको आशंका छ । भिजिट भिसामा हुने मानव बेचबिखन रोक्नकै लागि आफूहरूले शंकास्पद व्यक्तिहरूलाई फर्काउने गरेको ब्युरोका एसएसपी श्रेष्ठ बताउँछन् ।

 

पाँच महिनामा २७६२ जनालाई फर्कायो

पछिल्लो ५ महिनामा शंकास्पद कागजपत्र बोकेर भिजिट भिसामा विदेश जान लागेका २ हजार ७६२ जना विमानस्थलबाट फर्किएका छन् । ब्युरोको टोलीले वैदेशकि रोजगारीको सिलसिलामा विदेश जान लागेका तर मानव बेचविखनको जोखिममा पर्नसक्ने व्यक्तिहरुलाई फर्काएको हो ।

ब्युरोको रकेर्डअनुसार २०७९ माघ १ गतेदेखि २८ गतेसम्म १९३ महिला र ५७ पुरुष गरी २५० जनालाई फर्काएको हो । यस्तै फागुनमा ३३१ महिला र २२६ पुरुष गरी ५५७ जनालाई फर्काएको ब्युरोको रेकर्डमा उल्लेख छ ।

त्यस्तै चैत महिनमा ५२६ महिला र १२७ जना पुरुष गरी ६५३ जनालाई फर्काएको ब्युरोको रेकर्डमा उल्लेख छ । ब्युरोकाअनुसार वैशाखमा ३१३ महिला र १ जना पुरुष गरी ३१४ जनालाई फर्काइएको छ ।

०००

पछिल्लो समय भिजिट भिसाको दुरूपयोग गर्दै एजेन्ट (तस्करी) हरुले प्रतिबन्धित मुलुकमा घरेलु कामका लागि नेपालीलाई पठाउने क्रम बढ्दो छ । तर, ब्युरोको सक्रियताको कारण धेरैजना बिचल्ली हुनबाट जोगिएका छन् ।

यसरी भिजिट भिसामा कामका लागि विदेश जान लागेकालाई त्यसबाट निम्तिन सक्ने उच्च जोखिमबारे जानकारी गराएर ब्युरोले विमानस्थलबाट फर्काउने गरेको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनी बताउँछन् ।

‘सरकारले तोकेको मापदण्डभित्र रहेर र प्रक्रिया पुर्‍याएर मात्र विदेश जान परामर्श दिने गरेका छौं,’ ब्युरोका एसपी पंगेनीले भने । खाडी मुलुकमा बसेर एजेन्टको काम गर्ने व्यक्तिले नेपाली एजेन्टसँग सम्पर्क गरी मान्छे खोजेर राहदानी बनाउनेदेखि उडाउनेसम्म गरेको अनुसन्धानबाट खुल्न आएको उनले बताए ।

सरकारले भिजिट भिसामा खाडी मुलुक जान कडाइ गरेको छ । तर मानव तस्करले सेटिङमा नेपाली कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँजसो खाडी मुलुकमा पठाउने गरेका छन् । उनीहरुले एयरलाइन्स र अध्यागमन कर्मचारीकै मिलेमतोमा सहजै विदेश पठाउने काम गरेका छन् । तर, पनि सरकारले अनुसन्धान गर्न सकिरहेको छैन ।

प्रतिक्रिया