

१ लाख बढी रकमसहित जनप्रतिनिधि, शिक्षक र कर्मचारी जुवा खालबाट पक्राउ

बेसीसहर – लमजुङको दोर्दी गाउँपालिका-४, नौथर शेराबाट प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट १ लाख १ हजार ६ सय २५ रुपैयाँसमेत बरामद गरेको प्रहरीले जनाएको छ।
शेराको ए वान रेष्टुरेन्टमा तास खेल्दै गर्दा उनीहरू मंगलबार साँझ ५ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताए। उनका अनुसार पर्शुराम गुरुङले सञ्चालन गर्दै आएको रेष्टुरेन्टमा हारजितको बाजी राखेर तास खेलिरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा लिलबहादुर गुरुङ, राम अधिकारी, निलबहादुर गुरुङ, प्रेमकुमार राना, केश राना, कुमार गुरुङ र घरधनी पर्शुराम गुरुङ रहेका छन्। उनीहरूबाट १ सय ५२ पत्ति तास पनि बरामद भएको छ। पक्राउ परेकामध्ये लिल बहादुर गुरुङ सोही वडा (वडा नं. ४) का जननिर्वाचित वडा सदस्य हुन्। प्रेम कुमार राना सोही वडामा रहेको नौथर स्वास्थ्य इकाईका प्रमुख हुन् भने राम अधिकारी दोर्दी-६ मा रहेको ढोडेनी आधारभूत विद्यालयका स्थायी शिक्षक रहेको स्थानीयले बताएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार पक्राउ परेका जुवाडेहरुले अनलाइन (मोबाइल बैंकिङ)बाट रकम भुक्तानी गरेको समेत देखिन आएको छ। यसतर्फ पनि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको उनले बताए। उनीहरूलाई बुधबार जिल्ला प्रशासन कार्यालय, लमजुङबाट जुवासम्बन्धी कसूरमा थप अनुसन्धानको लागि म्याद थप गर्ने तयारी गरिएको रेग्मीले बताए।

