‘खुंखार’ दिनेश खड्काः जसले जेलबाट छुटेपछि पनि दिए अपराधलाई निरन्तरता

गर्लफ्रेन्ड हुँदै श्रीमती बनेकी अनिताको लगातार साथ


काठमाडौं – कैलाली लम्कीचुवा नगरपालिका वडा नं. १० का दिनेश खड्का अपराधको दुनियाँमा ‘खुंखार अपराधी’ पुष्टी भएका छन् ।

२०७८ सालमा ३७ करोड ६१ लाख बिगो माग गर्दै काठमाडौं जिल्ला अदालतमा दायर भएको उनीविरुद्धको मुद्दामा २५ लाख धरौटीमा रिहा भएका थिए । त्यतिबेला पनि अवैध डलर कारोबारको गरेको आरोपमा पक्राउ परेका दिनेशले बाइनान्स र स्क्रिलमार्फत इलेक्ट्रोनिक करेन्सीको कारोबार गरेको आशंका गरिएको थियो ।

त्यतिबेला आफ्नो खातामा ९ करोड ७९ लाख, दिदी भगवती खडकाको खातामा २० करोड ४२ लाख र बुवाको खातामा १ करोड ६४ बराबरको कारोबार देखिएको थियो । त्यतिबेला परि आफ्ना बुवा, दिदी र गर्लफ्रेन्ड नै प्रयोग गरेका दिनेश जेल परे पनि उनको अपराध मनोप्रवृत्ति नहटेको अहिले पुष्टी भएको छ । तर पछिल्लो घटनासँगै उनलाई श्रीमती भनिएकी अनिताले पनि पूर्ण साथ दिएको देखियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार सार्वजनिक दिनेशलाई पुनः पक्राउ गरी अन्य चारसहित सार्वजनिक गरेको छ । पहिलेको भन्दा व्यवस्थित र बृहत ढंगले कारोबार गरेको प्रहरी अनुसन्धानले ठहर गरेको छ ।

अवैध कारोबारका लागि चार्टड एकाउन्टेन्ट नै राखेर कारोबार गरिरहेका दिनेशलाई नियन्त्रणमा लिने क्रममा उनले देखाएको ब्यवहारबाट प्रहरी नै चकित परेको छ । उनी बस्ने गरेको मैजुबहालमा पक्राउ गर्न प्रहरी पुगेको थाहा पाउनासाथ आफूसँग भएको ल्यापटप फुटाएका दिनेशको ब्यहारबाट उनी ‘खुंखार’ अपराधी भएको पुष्टी भएको छ ।

प्रहरीले बुधबार गरेको सार्वजनिक कार्यक्रममा क्रिप्टो र वनएक्स बेटमार्फत् कारोबार गरेको अभियोगमा दिनेशसहित ५ जना थिए । दिनेशकै नेतृत्वमा विभिन्न बैंकहरुमार्फत् उनीहरुले उनीहरु ५ जनाले ७४ करोड १३ लाख ५० हजार रुपैयाँ कारोबार गरेको पनि प्रहरीले जनाएको छ ।

विभिन्न छद्म नाम राखेर आपराधिक कार्य गर्दै आएका दिनेशसँगै काभ्रे पाँचखालकी अनिता धिताल, भक्तपुरका दिपेश श्रेष्ठ, कञ्चनपुरका दिनेश चन्द र आशिष लामिछानेलाई पनि पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) डा. मनोज केसीले जनाए ।

उनीहरुले फरक–फरक सीमकार्ड प्रयोग गरी विभिन्न माध्यम प्रयोग गरि क्रिप्टोका साथै सट्टेबाजी पनि गर्दै आएको पुष्टी भएको छ ।

एसएसपी डा. केसीले खड्का वान एक्स बेटका नेपालका मुख्य एजेन्ट भएको जनाए ।

प्रहरीका अनुसार खड्काले ६५ करोड ७७ लाख ८८ हजार अनलाइन बेटिङमा कारोबार गरेको देखिएको छ भने दिपेशले ५ करोड ५४ लाख ६६ हजार रुपैयाँ कारोबार गरेको देखिएको छ ।

त्यस्तै चन्दले ५४ लाख र लामिछानेले २ करोड ९८ लाख ९६ हजार कारोबार गरेको प्रहरीले फेला पारेको छ । लामिछाने भने वान एक्स बेटका नेपाली एजेन्टहरुको कारोबार गर्ने चार्टड एकाउन्टेन्ट रहेको खुलेको छ । उनीहरुको नेपाली एजेन्टहरुसँग पैसा संकलन गरेर विदेश पैसा पठाउने गरेको प्रहरीले जनाएको छ ।

केसीका अनुसार दिनेश र अनिता श्रीमान्-श्रीमती हुन् । यसअघिको अवैध डलर प्रकरणमा पनि अनिताको संलग्नता देखिएको थियो । दिनेशविरूद्ध काठमाडाैं जिल्ला अदालतमा रहेको तत्कालिन मुद्दाको बारेमा भने प्रहरीले थप खुलाएको छैन ।

प्रतिक्रिया