

भ्रष्टाचार गरेको आरोपमा विद्यालयका तत्कालीन प्रधानाध्यापकविरुद्ध मुद्दा

काठमाडाैं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको एक विद्यालयका तत्कालीन प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आइतवार टेत्सुओ प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक नारायणप्रसाद पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार उनीविरुद्ध ३ लाख १२ हजार रुपैयाँको विगो कायम गरी जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
विद्यालयको शौचालय निर्माण गर्दा भ्रष्टाचार भएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा शौचालय निर्माण गर्नका लागि निकासा भएको रकम तत्कालीन प्रधानाध्यापक पौडेलले बैंकबाट झिकेको भए पनि शौचालय निर्माणको लागि कुनै पहल नगरेको पाइएको अख्तियारले जनाएको छ ।
साथै जिल्ला शिक्षा कार्यालयबाट कार्य सम्पन्न नभएको भए उक्त रकम बेरुजू खातामा दाखिला गर्न पटक–पटक निर्देशन दिँदासमेत प्रधानाध्यापक पौडेलले रकम दाखिला गरेका थिएनन् ।
शौचालय निर्माणको लागि आएको दुई लाख र विद्यालयको नाममा रहेको अक्षय कोषको १ लाख १२ हजार रुपैयाँसमेत उनले हिनामिना गरेको अख्तियारको दाबी छ ।

