

भागरथी, निर्मला पन्तका हत्यारालाई पानी मुनी गए पनि छाडिने छैनः प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भागरथी भट्ट, निर्मला पन्तका बलात्कारी र हत्यारालाई पानी मुनी गए पनि नछाड्ने बताएका छन्।
नेकपा लुम्बिनी प्रदेशले बुटवलमा शनिबार गरेको आम सभालाई सम्बोधन गर्दै उनले केही दिन लागे पनि त्यस्ता अपराधीलाई अदालतमा उभ्याउने दाबी गरे।
उनले भने,‘यस्ता अपराधीलाई छाड्ने वा जोगाउने कुरा हुँदैन। सरकारले कारबाही गर्छ, तिनीहरु एकाध बर्ष लुके पनि सजाय घट्नेवाला छैन।’
नेकपा विभाजन नभएको दाबी गरेका उनले भने,‘देश बनाउने सपना नमिलेका तत्वहरू पार्टी छाडेर बहिरिएका छन्। उनीहरू आत्तिरहेका छन्।’
उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहलाई चुनावसँग नडराउन सुझाव दिए। ‘जनताका बीचमा जान हुँदैन, चुनावमा जान हुँदैन भने तपाईहरुले कस्तो व्यवस्था खोजेको?’, उनले प्रश्न गरे, ‘ अस्ती मान्छे हेर भनेर गर्जिए । मान्छे मात्रै किन हेर्ने, बाकसबाट मत निकालेरै गनौंला नि!’
देशमा नयाँ नक्शा जारी गरेपछि सरकार गिराउने खेल सुरु भएको प्रधानमन्त्रीको आरोप थियो। ‘जतिबेला नक्सा बनाएँ मेरो प्रधानमन्त्री र अध्यक्ष पदमा राजीनामा माग्न थालियो। संविधानमा नयाँ नक्शा राखेपछि उनीहरु आत्तिए’, उनले भने।
२०७८ लाई भिकमंगा नभएको देशका रुपमा घोषणाको तयारी भएको ओलीले जानकारी दिए। उनले संविधानका अनुसार नै प्रतिनिधि सभा विघटन गरेको बताए। भने,‘धारा ७६ (१)ले बनेको प्रधानमन्त्रीले धारा ७६ (७) अनुसार धारा ८५ को अधिकार अनुसार विघटन गरेको हुँ। संसद पुनःस्थापना भए कुनै पार्टीको बहुमत हुँदैन, देशको हुर्मत लिने काम हुन्छ। लोकतन्त्रको हुर्मत लिने काम हुन्छ।’
हिजो प्रचण्डले उचालेर विधुवा, टुहुरा बनाएका घाइते बनाएकालाई अहिलेको सरकारले हेर्ने ओलीको भनाई थियो। अहिले जनताका पीडामा आँसु खसालेको भनेर आफूलाई खिसी गरेको संकेत गर्दै भने,‘जनताको पीडामा आँसु खसाउनुपर्छ। हामी खसाउँछौं।’

