

उदयपुरः श्रीमानको हत्या, श्रीमतीको अवस्था गम्भीर

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका–११ गाईघाट शिवालय टोलमा शनिबार बिहान एक पुरुषको घरमा नै हत्या भएको छ । उनकी श्रीमतीको अवस्था पनि गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शिवालय टोलका ६६ वर्षीय वीरेन्द्र राई हत्या गरिएको अवस्थामा मृत भेटिएका हुन् ।
घरको माथिल्लो तलाको कोठामा राई मृत फेला परेका र उनको शरीरभरि विभिन्न स्थानमा निलडाम र चोट रहेको प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद दाहालले जानकारी दिएका छन् । यस्तै मृतककी श्रीमती ५४ वर्षीय रीता राईको पनि मुखमा विष दलिएको र बेहोस अवस्थामा घर नजिकै बारीमा फेला परेपछि अहिले तत्काल उपचारका लागि विराटनगर पठाइएको प्रहरी प्रमुख दाहालले जानकारी दिए ।
राईलाई केही व्यक्तिहरुको समूहले आएर राति नै हत्या गरेको र श्रीमतीलाई पनि विष खुवाएर बेहोस बनाई बारीमा फालेर छाडेको हुनसक्ने प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरेको छ ।
केही व्यक्तिहरुसँग निजकी श्रीमतीको झगडा परेको र कुटपिट समेत भएको भन्ने छिमेकीको सूचनाका आधारमा प्रहरी शनिबार बिहानै राईको घरमा पुगेको थियो । घटनामा संलग्न भएको आशंकामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।

