


विवादित एआईजी डिएसपी बढुवामा हावी, गृहमन्त्री र आईजीलाई नै गुमराहमा राख्न सफल

काठमाडौं – लामो रस्साकस्सीका बीच २२ जेठमा ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस भए । तर, उक्त बढुवा केही व्यक्तिको स्वार्थको कारण विवादित बन्न पुगेको छ । कार्यसम्पादन मूल्यांकनभन्दा पनि शक्ति र पहुँचको दबाबमा बढुवा निकालिएको चर्चा छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरलाई गुमराहमा पारी मानव स्रोत विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दीप भण्डारी डिएसपी बढुवामा हावी भएको बताइएको छ । बढुवाले पनि त्यस्तै देखाउँछ । उक्त बढुवामा एआईजी भण्डारीले नाजायज लाभ लिएको समेत बताइन्छ ।
बढुवाको प्रतिस्पर्धामा २०७० सालमा भर्ना भएका १४६ जना इन्स्पेक्टर थिए । तर, एआईजी भण्डारीले कतिपय कारबाहीमा परेका र विवादित इन्स्पेक्टरहरुलाई बढुवा गराई आर्थिक लाभ लिएको स्रोत बताउँछ । केही व्यक्तिहरुबाट पैसा लिएर एआईजी भण्डारीले आफ्ना मान्छेलाई बढुवा गर्न सफल भएको चर्चा प्रहरी प्रधान कार्यालयभित्र छ ।
बाहिर गृहमन्त्रीको सचिवालयका अधिकारीहरुले पैसा उठाएको हल्ला चलेपनि भित्रि कुरा अर्कै रहेको डिएसपी बढुवापछि खुलेको हो । एआईजी भण्डारीमाथि विश्वास गर्दा गृहमन्त्री श्रेष्ठ र आईजी कुँवर निरिह साबित हुन पुगेका छन् । एआईजी भण्डारीले अधिकांश विवादितलाई बढुवा गरेर स्वार्थपूर्ति गरेपनि बद्नाम भने गृहमन्त्री र आईजी सचिवालयको भएको छ ।
यसअघिको प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी) बढुवामा समेत भण्डारी हावी हुँदा संगठनमा राम्रा र काबिल मानिएका अफिसरहरु छुटेका थिए । तर, यो पटक अर्थात डिएसपी बढुवामा आईजी कुँवरले राम्रा र संगठनमा काबिल मानिएका अधिकृतलाई बढुवा गर्ने अपेक्षा गरिएपनि भण्डारीको अगाडि त्यसो हुन सकेन ।
एआईजी भण्डारीकै मनोमानीका कारण बरियतामा अगाडि रहेका इन्सपेक्टरहरु बढुवा सिफारिसमा छुटेका छन् । इन्सपेक्टर बढुवामा वरिष्ठहरुलाई पाखा लगाई घोर अन्याय गरेका एआईजी भण्डारी आफैंमा विवादित र कमजोर कमाण्डिङ क्षमताका प्रहरी अधिकृत हुन् । तर, अहिले प्रहरी संगठनमा भण्डारीको हालीमुहाली छ ।
आफू कार्यरत विभागमा मातहतको प्रहरी अधिकृतहरुलाई थर्काउँदै निर्णय गर्ने गरेको गुनासो समेत छ । महिला प्रहरी अधिकृतलाई समेत अपशब्द बोल्न नडाराउने एआईजी भण्डारीको कारण राम्रा इन्स्पेक्टरहरु बढुवामा छुटेको सिनियर प्रहरी अधिकृतहरुको समेत बुझाइ छ । चेन अफ कमाण्डमा चल्ने प्रहरी संगठनमा बरिष्ठताको ठूलो अर्थ रहन्छ ।
इन्स्पेक्टरमा भर्ना हुँदा उत्कृष्ट नम्बरसहित भर्ना भएका र अपराध अनुसन्धान तथा कमान्डको क्षमतामाथि समेत कुनै विवाद नदेखिएका प्रहरी अधिकृतहरू छुटेपछि असन्तुष्टि चुलिनु स्वभाविक पनि हो । कार्यसम्पादन मूल्यांकनभन्दा पनि शक्ति र पहुँचको प्रभावमा बढुवा गरिएकोमा दुईमत छैन ।
फिल्डमा खटिएर काम गर्नेभन्दा प्रशासनका फाइल बोक्ने र हाकिमका नजिकका मान्छे बढुवामा परेका छन् । कार्य सम्पादनमा उत्कृष्ट र जहाँ खटाउँदा पनि पुरस्कृत भएका र विभुषण पाएका इन्सपेक्टरहरुलाई बढुवामा बञ्चित गर्दा एआईजी भण्डारीले गृहमन्त्रीलाई काविल अधिकृतहरुका बारेमा हुँदै नभएका मनोगणन्ते कुरा सुनाएर बढुवाबाट छुटाएको आरोप छ ।
त्यतिमात्र नभएर एआईजी भण्डारीले आफ्नो स्वार्थको लागि गृहमन्त्री श्रेष्ठलाई आफ्नै ब्याचका अन्य साथीहरुको बारेमा समेत हुँदै नभएको कुरा लगाएर ठूलो बन्न खोजेको पाइएको छ । एआईजीहरु टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, मिरा चौधरीहरुको बारेमा नराम्रो भन्दै आफूलाई राम्रो देखाउन भण्डारी तत्पर रहेको स्रोत बताउँछ ।
नाम नबताउने सर्तमा एक एआईजीले भने, ‘डिएसपी बढुवा अहिलेसम्मकै विवादित बढुाव हो । यस्तो हुँदा संगठन नै ध्वस्त हुन्छ । यस्तोमा आईजी स्वयंले पनि चासो नदिँदा प्रहरीमा राम्रो क्यारियर भएका अधिकृतहरु छुटे । हामीसँग आएर ती अधिकृतहरु गुनासो पोख्छन्, रुन्छन् । हामीले पनि के भनेर सम्झाउने ? त्यो ठाउँमा हाम्रो केही चल्दैन । आफैंलाई गाह्रो छ ।’
बढुवा समितिमा आईजी अध्यक्ष रहने व्यवस्था छ । तर, एआईजी भण्डारीले आईजी कुँवरलाई गुमराहमा पारेर डिएसपी बढुवामा हस्तक्षेप गरेपछि चर्को आलोचना भएको छ । यो यो मान्छे हाम्रो मान्छे हुन् भन्दै ४६ जनाकै नाम लिस्ट बोकेर एआईजी भण्डारी नेकपा एमालेका अध्यक्षदेखि अन्य नेताहरुको घरमा समेत धाएको स्रोत बताउँछ ।
यसरी एआईजी भण्डारीले भुगोल हेरेर बढुवा गर्दा संगठनमा नाम कमाएका र इमान्दार प्रहरी अन्यायमा परेको महसुस गरेका छन् । त्यस्तै केही हाकिमको अघिपछि हिँड्ने अधिकृत समेत बढुवा हुन सफल भएका छन् । जबकी तिनीहरुसँग फिल्ड कमाण्डको अनुभव नै छैन । यसरी आफ्ना नजिकका र पैसा लिएर बढुवा गरेपछि डिएसपी बढुवा विवादित बन्न पुगेको हो ।
आर्थिक लाभ लिएरै बढुवा गरेको गुनासोपछि गृहमन्त्री श्रेष्ठले एआईजी भण्डारीसँग स्पष्टिकरण सोध्ने हिम्मत गर्लान् ? त्यो हेर्न बाँकी छ । तर, मन्त्रीको सचिवालय स्रोतका अनुसार श्रेष्ठले एआईजी भण्डारीलाई स्पष्टिकरण सोध्ने बताइएको छ । स्पष्टिकरणको लागि आईजी कुँवर स्वदेश फिर्ता भएपछि प्रक्रिया अगाडि बढ्नेछ ।
यता, गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतले यस विषयमा अहिलेसम्म केही खबर नआएको बताए ।
००००
पछिल्लो १० वर्षमा नौ जना गृहमन्त्री भए । ‘प्रहरीको सरुवा–बढुवामा चासो लिन्न त्यसैले मकहाँ नआउनु । त्यतिमात्र होइन यसअघि प्रहरीको सरुवा–बढुवामा हुने चलखेल पूर्ण रुपमा बन्द गर्छु । कुनै पनि प्रहरीलाई अन्याय हुनेगरी काम नगर्ने र अन्यायमा परेकालाई न्याय दिलाउँछु,’ गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा सबैको यस्तै–यस्तै एउटै प्रतिबद्धता हुन्थ्यो ।
गृहमन्त्रीको यस्तो मन छुने प्रतिबद्धतापछि अधिकांश सुरक्षाकर्मीहरु व्यग्र प्रतिक्षारत भएर आफ्नो ड्युटी गरिरहन्थे । एकदिन बित्यो, दुईदिन बित्यो हुँदाहुँदै वर्षौं बित्न लागिसक्दा पनि गृहमन्त्रीको त्यो प्रतिबद्धताअनुसार काम हुँदैन्थ्यो । कागजको पन्नामा मात्र सीमित हुन्थ्यो । यहिँबाट प्रष्ट हुन्छ कि जुनसुकै गृहमन्त्री पनि काम भन्दा बढी धेरै गफ दिन्छन् ।
श्रेष्ठ गृहमन्त्री भएपछि २० चैतमा प्रहरी प्रधान कार्यालय, नक्सालको निरीक्षण भ्रमणमा पुगे । सो अवसरमा गृहमन्त्री श्रेष्ठले सरुवा, बढुवा र पदस्थापनलाई वैज्ञानिक बनाउने बताए । प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उनले भने– ‘सरुवा र बढुवामा हस्तक्षेप गर्न दिइने छैन ।’
त्यस्तै केही समयपछि श्रेष्ठले प्रहरीको सरुवा र बढुवाका लागि नाजायज लाभ लिने र दिनेलाई जेल हाल्ने बताए । आफू गृहमन्त्री भएपछि प्रहरी संगठनमा सरुवा र बढुवामा हुने लेनदेन बन्द भएको उनको दाबी थियो । ‘यसअघि कसैले पैसा लिएको थियो भने बन्द भएको छ । खबरदार ! कोही कसैले बढुवा र सरुवाको निम्ति नाजायज लाभ लिएको छ भने दिनेलाई पनि जेल हाल्छु, लिनेलाई पनि जेल हाल्छु,’ श्रेष्ठले भनेका थिए ।
तर, ‘जुन जोगी आएपनि कान चिरेकै’ भन्ने नेपाली उखान गृह मन्त्रालयको नेतृत्व सम्हाल्ने गरी आउने व्यक्तिको हकम लागू हुने गरेको छ । गृहमन्त्री श्रेष्ठले त्यसो भनिरहँदा गत २२ जेठमा निस्किएको डिएसपी बढुवामा झनै प्रष्ट देखिनेगरी आर्थिक चलखेल भएको छ । जसले गृहमन्त्री श्रेष्ठ पनि कामभन्दा बढी गफ दिन तल्लिन छन् भन्ने प्रष्ट छ ।

