मेडिसिटी अस्पतालका कर्मचारीले यसरी ठगे साढे दुई करोड, ३ पक्राउ


काठमाडाैं –  प्रहरीले नेपाल मेडिसिटी अस्पतालको साढे दुई करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा अस्पतालका तीन कर्मचारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरले अस्पतालको विलिङमा घोटाला गरेर दुई करोड ६३ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा विलिङ शाखाका प्राविधिक प्रमुखसहित तीनजनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरमा विलिङ सेक्सनमा काम गर्ने कर्मचारीहरूले अस्पतालमा प्रयोग हुँदैं आएको शुक्र नामको एचएमआइएस सफ्टवेयरको दुरुपयोग गरी रकम ठगी गरेका थिए ।

प्रहरी अनुसन्धानमा उनीहरुले अस्पतालमा भर्ना भएका बिरामीहरूबाट वेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतको वास्तविक शुल्क लिएपनि कम शुल्क सफ्टवेयरमा इन्ट्री देखाएर रकम ठगी गरेका हुन् ।

नेपाल मेडिसिटी अस्पतालले Sukraa नामको HMIS Software को दुरुपयोग गरी बिरामीहरूबाट वेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतको वास्तविक शुल्क लिई निजहरुबाट लिएको शुल्क भन्दा कम शुल्क Software मा Entry गरी/देखाई रु.२,६३,५५,००१/- (दुई करोड त्रिसठ्ठी लाख पचपन्न हजार एक रुपैंया) लिई खाई ठगी गरी अस्पताललाई घाटा पुर्याएको भन्दै अनुसन्धानका लागि प्रहरीमा जाहेरी दिएको थियो ।

प्रहरीले जिल्ला दोलखा भिमेश्वर न.पा.वडा नं.४ घर भई भक्तपुर ठिमी वस्ने विगतमा ऐ. अस्पतालमा Executive IP Billing को रुपमा कार्यरत वर्ष ३४ को राघव सापकोटा, ललितपुर जिल्ला गोदावरी न.पा.वडा नं. ११ चापागाउँ वस्ने बर्ष २९ को सनम देशार र काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.४ वालुवाटार वस्ने वर्ष ३४ को आशिष अर्याल समेत ३ लाइ पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई अपराधिक लाभ तथा अपराधिक विश्‍वासघात सम्वन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट ५ दिनको अनुसन्धान म्याद लिएर बिस्तृत अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया