

माग सम्बोधन नगरेको भन्दै बैतडीमा विद्यालय कर्मचारी आन्दोलित

बैतडी – बैतडीमा विद्यालय कर्मचारी आन्दोलित भएका छन्। सरकारले पारिश्रमिक वृद्धि नगरेको भन्दै जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी आन्दोलित भएका हुन्।
नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको सेवा सुविधाबारे ग्यारेन्टी गरिने भनिएतापनि बजेटमा समावेश नगरेकाले आन्दोलनका कार्यक्रम सुरु गरिएका विद्यालय कर्मचारी खेम राज जोशीले बताए।
यस्तै विद्यालय कर्मचारीहरूले शिक्षा विकास तथा समन्वय इकाई बैतडीको कार्यालयमा धर्ना दिएका छन्। नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला समिति बैतडीले आन्दोलनका कार्यक्रम अघि सारेको हो।
सरकारले आफूहरूका माग सम्बोधन नगरेको भन्दै जिल्लाभित्रका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले आन्दोलन चर्काउन थालेका हुन्। २६ गते सम्म धर्ना कार्यक्रम गरिने र त्यसपछि पनि अन्य आन्दोलनका कार्यक्रम अगाडि बढाइने विद्यालय कर्मचारी विनोद बोहराले बताए।
विद्यालयमा कार्यरत कर्मचारी न्यून पारिश्रमिकमा काम गरिरहेका छन्। अहिले सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहयोगीले ८ हजार पाउँछन् भने लेखापालले १३ हजार ५ सयमा काम गर्नुपर्ने बाध्यता छ।
सरकारले आफूहरूमाथि श्रमशोषण गरेको उनीहरूको आरोप छ। पटकपटक सरकारमा रहेकाहरूको ध्यानाकषर्ण गराउँदा पनि आफूहरूका पीडा कसैले नसुनेका उनीहरूको दु:खेसो छ।

