ब्राउन सुगरको एक कारोबारी भद्रपुरबाट पक्राउ


झापा – झापामा लागु औषध ब्राउन सुगरको बेचबिखन गर्ने एक कारोबारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-७ निवासी ३७ वर्षीय अजित विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

विश्वकर्माको घरमा ब्राउन सुगर कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो।

प्रहरीले उनले लगाएको कालो रङको कट्टुको कम्मरको भागको इलास्टिकमा फोल्ड गरी कालो प्लास्टिकको टुक्रामा पोको बनाई लुकाइ छिपाई राखेको २ ग्राम १२० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो।

ब्राउन सुगर फेला परेपछि प्रहरीले उनको कोठाको दराजबाट तीन थान डिजिटल तराजु, विभिन्न कम्पनीको १६ थान मोबाइल समेत फेला पारेको छ।  यता पक्राउ परेका कारोबारी विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाएको डीएसपी रिजालले बताए।

प्रहरीले केही दिनअघि भद्रपुर नाकाबाट ब्राउन सुगरको कारोबार गर्ने दुई भारतीय नागरिकलाई समेत पक्राउ गरेको थियो। पक्राउ पर्नेहरूमा भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला खोरीवारिका २२ वर्षीय शिवु घोष र सोही ठाउँकी २६ वर्षीया श्यामली सोरेन रहेका छन्।

भद्रपुरबाट ब्राउन सुगर खरिद गरी लगेका व्यक्ति पक्राउ परेपछि उनकै सुराकीका आधारमा उनीहरू पक्राउ परेका थिए।

प्रतिक्रिया