

गण्डकीको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

पोखरा – गण्डकी प्रदेश सरकारले क्रमागत योजनाको निर्माण तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८०र०१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
गण्डकी प्रदेश सरकारले सार्वजनिक खर्चलाई मितव्ययी बनाउने, चालु खर्च घटाउने र पूँजीगत खर्च बृद्धिलाई प्राथमिकतामा राखेको छ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट आइतबार प्रस्तुत नीति तथा कार्यक्रममा समेटिएका अधिकांश कार्यक्रमहरु पुरानै छन्। सामाजिक सुरक्षाका विषयहरुलाई विभिन्न नारासहित नयाँ बनाउन खोजिएको छ। सरकारले प्रदेश सदरमुकाम र स्थानीय तहको केन्द्र जोड्ने तथाप्रदेश गौरव र प्रदेश रणनीतिक सडक बिस्तारलाई प्राथमिकतामा राखेको छ।
गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ५ वर्षअघि नै प्रदेश गौरव र रणनीतिक महत्वका सडक घोषणा गरी काम थालनी गरेका थिए। क्रमागत योजनामा समेटिएका ती सडकहरू २०८१ सालसम्म निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाइएको छ।
चालु आर्थिक वर्षको लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको सरकार यसपटक बजेटको आकार घटाउनुपर्ने बाध्यतामा छ।

