

अभद्र व्यवहार तथा कुटपिट मुद्दा दर्ता भएपछि वडाध्यक्ष फरार

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्ष आपेन्द्र सहनीमाथि अभद्र व्यवहार तथा कुटपिट मुद्दा दर्ता भएको छ। सहनी जनकपुरधाम उपमहानगरपालिका-२४ का वडाध्यक्ष हुन्।
बसहियास्थित जदुराउत पोखरीको ऐलानी डिलमा वडाध्यक्ष सहनीले जातीय धर्मशाला बनाउन खोज्दा स्थानीयले विरोध गरेपछि सहनीसहित प्रमोद सहनी, चन्दन सहनी, शिवरत्न सहनी लगायतले सुनिल यादव, सुरुज यादव, अमीर्ती देवी, अजय राउत लगायतका करिब एक दर्जन व्यक्तिलाई निर्घात कुटपिट गरेपछि प्रहरीले अभद्र व्यवहार तथा कुटपिट मुद्दा दर्ता गरेको हो।
यता मुद्दा दर्ता भएसँगै वडाध्यक्ष फरार भएको श्रोतले जनाएको छ। गत बिहीबार ८ बजेको समयमा बसहियाको जदुराउत पोखरीको डिलमा अवस्थित ऐलानी जग्गामा वडाध्यक्षले सहनी धर्मशाला बनाउन खोज्दा स्थानीयवासीले विरोध जनाएपछि वडाध्यक्ष पक्षधरले स्थानीयलाई हातपात गरेको थियो।
बसहियाका स्थानीयहरूले सार्वजनिक जग्गामा कुनै एक जातको जातीय कुट्टी नबनाई सामुदायिक दलान बनाउनुपर्ने माग सहित विरोध गरेको थियो। सोही क्रममा वडाध्यक्ष पक्षधरको कुटपिटबाट ३५ वर्षीय सुनिल यादवको अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि शनिबार साँझ प्रादेशिक अस्पताल जनकपुरधामबाट काठमाडौं लगिएको छ।

