

लागूपदार्थ सेवन गरी सवारी चलाउने एक सय २७ जना पक्राउ

काठमाडौं – लागूपदार्थ सेवन गरी सवारी चलाउने १ सय २७ जना पक्राउ छन्। काठमाडौंको नागढुङगामा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने ८ जना चालकसहित १३ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा आएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलीले २० वटा सवारी साधन चेक गर्दा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ८ जना चालक र सवारी साधनमा सवार ५ जना यात्रु फेला पारेको थियो।
सवारी साधनका चालकले लागूऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोलीसहित टीएचसी किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको हो।
अभियान सुरु भएदेखि हालसम्म १ सय २७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयहरूमा पठाइसकेको छ।

