

निरा हत्या आरोपी विनोदविरुद्ध जन्मकैद सजायको माग गर्दै मुद्दा दर्ता

काठमाडौं – कपन सरस्वतीनगरकी निरा आचार्यको हत्या आरोपी विनोद विश्वकर्माविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोग पत्रमा मुलुकी अपराध संहिताको दफा ४१ (क) बमोजिम आजिबन कैद सजाय माग गरिएको छ । उक्त दफामा क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको कसुरका कसुरदारलाई जिवित रहेसम्म कैद गरिने उल्लेख छ ।
विनोदले लुटपाटको उद्देश्यले कपनस्थित भाँडा पसलभित्र पसेर सञ्चालिका निरा आचार्यको हत्या गरेको अभियोग पत्रमा उल्लेख छ । पोस्टमार्टम रिपोर्टमा निराका शरिरका विभिन्न भागमा २० भन्दा बढी चोट देखिएको थियो ।
यो प्रकरणमा प्रतिवादी बनाइएका २३ वर्षीय प्रदीप गदाइलीविरुद्ध ५ वर्षसम्म कैद वा ५० हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजायको माग गरिएको छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २८७ बमोजिम उनीविरुद्ध सजाय माग गरिएको हो ।

