पक्राउ परेका १६ जनासहित ३३ जनाविरुद्ध मुद्दा दर्ता


काठमाडौं – नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दे करोडौं ठगी प्रकरणमा संलग्न रेका ३३ जना विरुद्ध सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा मुद्दा दायर गरेको छ । पक्राउ परेका १६ जनासहित फरार रहेकाहरूलाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता गरेको हो ।

यस प्रकरणमा पहिलो व्यक्ति पक्राउ परेको ६०औँ दिनमा मुद्दा दर्ता भएको हो । दुई महिनाको अनुसन्धानपछि प्रहरीले सरकारी वकिल कार्यालयलाई सोमबार प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको अध्ययनपछि सरकारी वकिलले मुद्दा दायर गरेका हुन् । अभियुक्तहरुविरुद्ध ठगी, कीर्ते, संगठित र राज्यविरूद्धको गरी चार वटा छुट्टाछुट्टै मुद्दा लगाइएको छ । यस्तै २७ करोड २१ लाख बिगो माग गरिएको छ ।

प्रतिवादीविरुद्ध नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिकासहित तेस्रो देश पठाउन रकम असुली गरी ठगी गरेको अभियोगमा मुद्दा दर्ता भएको हो । त्यस्तै, लिखत किर्तेसम्बन्धी कसुर, राज्यविरुद्धको अपराध र संगठीत अपराधमा मुद्दा दायर भएको छ ।

उक्त घटनामा पूर्वमन्त्री, सचिवसहितका १६ जना पक्राउ परेका छन् । अरू थप १७ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउने राय दिइएको थियो ।

शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा एमाले का निलम्बित सचिव पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव (निलम्बित सचिव) टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा.इन्द्रजीत राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् ।

पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ जना अझै फरार छन् ।

प्रतिक्रिया