

प्रचण्ड क्याम्पमा अन्यको पतनसँगै रामकुमारीको राजनीतिक उदय

काठमाडौं– दुई खेमामा विभक्त भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल क्याम्पमा रहेका महिला नेत्रीहरूबीच रामकुमारी झाँक्रीको राजनीतिक उदय भएको छ।
उक्त क्याम्पमा रहेका प्रचण्ड पक्षधरमा पूर्वमाओवादी नेत्रीहरू मात्र होइन, पूर्वएमाले खेमाका नेत्रीहरूलाई पनि पछार्दै झाँक्रीको राजनीतिक उदयको ग्राफ विहीबारदेखि अझ उकालो लागेको हो।
बुधबार उक्त क्याम्पले राजधानीमा गरेको विरोध सभामा सम्बोधनको मौका पाउँदा झाँक्रीको शैली नै नयाँ थियो। उनले मुखमा टेप टाँसी मञ्चमा उत्रिएर पहिलो शव्दमा नै भनेकी थिइन्– बोल्न पाइन्छ। यसले संकेत गरेको थियो– उनी पक्राउ पर्दैछिन्।
प्रहरीले उनलाई पक्राउ गर्ने आदेश आइसकेको सूचना बुधबार दिउँसो नै दिएको थियो। तर राजधानीमा ठूलो भिँड र सभा रहेका कारण उक्त कदम चालिएन। विहीबार पनि बिहानैदेखि उनलाई नियन्त्रणमा लिने प्रयास भएको थियो। झाँक्रीले सोहीबीचमा मिडियाको राम्रो उपयोग गरिन् र पक्राउ पुर्जी माग्दै गिरफ्तारी दिइन्।
उनको गिरफ्तारीले सामाजिक सञ्जालमा राज्यको विरोधमा आवाज बलिया भएका छन् भने विभिन्न दल र नेताले आफ्ना विचार राज्यविरुद्ध झाँक्रीको सहानुभूतिमा राख्न थालेका छन्। यसले प्रचण्ड क्याम्पमा रहेर प्रतिनिधि सभा सदस्य भएका, मन्त्री समेत बनिसकेका कतिपय महिला नेत्रीहरूको आलोचनाबीच झाँक्रीका पक्षमा जनमत बलियो भएको छ।
खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको समूहले प्रचण्डको आलोचनामा मन्त्री बनाइएकी बुहारी बिना मगरलगायतलाई संकेत गर्दै अन्यको पनि नाम जोड्ने गरेका थिए। राजनीतिक परिदृश्य र पृष्ठभूमीमा प्रचण्ड क्याम्पका लागि गहिरो धब्बा बनिरहेको उक्त अभियोगले महिला नेत्रीको उदय भन्दा राजनीतिक पतनका हिसाबमा आलोचना हुन्थे। तर झाँक्रीले सोही क्याम्पबाट राजनीतिक उदयको गतिलाई समातेकी छन्, गिरफ्तारी दिएसँगै।
‘राज्यले जुन मुद्धा अन्तर्गत पक्राउ पुर्जी जारी गरी कारबाही गर्न खोजीरहेको छ। यसले रामकुमारी झाँक्रीको राजनीतिक जीवनलाई अझ तेजिलो बनाउँछ’, नेकपाका एक जना केन्द्रीय सदस्यले भने,‘उनको गिरफ्तारीको कारण र समयले उनलाई नेतामा स्थापित गरेको छ।’
प्रचण्ड क्याम्पमा रहेका कतिपय पुराना महिला नेत्रीहरू पनि पदका लागि नै मरिहत्ते गरिरहेको जस्तो परिदृश्य देखाइएको थियो। पूर्वएमाले उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्य बागमती प्रदेशमा मुख्यमन्त्रीमा प्रस्तावित भएपछि उनको आलोचना भएको थियो। बुहारी भएकै कारण पनि बिना मगरको आलोचना तिव्र हुँदै आएको थियो।
यसबीच झाँक्रीले गोरखालगायतका विभिन्न जिल्लामा दिएको तेजिलो भाषणले उनको चिनारी त स्थापित गर्दैथियो तर राजनीतिक रुपमा महिला लिडरसीपको गति तेज थिएन। ‘यो पक्राउ नै झाँक्रीका लागि राजनीतिक तेजको गति बन्यो’, उनका समकक्षीहरू भन्छन्,‘एउटा निडर लिडरका रुपमा त दुनियाँसामु स्थापित भएकै छन्।’
उक्त क्याम्पका स्थायी समिति सदस्य योगेश भट्टराईले पनि झाँक्रीलाई स्थापित गरेको तर्क सामाजिक सञ्जालमार्फत राखेका थिए।
प्रहरीले झाँक्रीको घर घेरिरहेका बेला भट्टराईले लेखेका थिए,‘रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतीका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतीलाई धुलिसाफ गर्ने भए । राष्ट्रपती संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर। ब्यक्तिगत रुपमा रामकुमारीलाई थप परिपक्व बनाउने छ र अझ स्थापित गर्नेछ।’
झाँक्रीको निशर्त रिहाईका निम्ति उक्त क्याम्पका प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति नै जारी गरिसकेका छन् भने अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीको ठाडो आदेशमा गिरफ्तार गरिएको बताइदिए। ‘यस्ता चिजले राजनीतिक उदयको गतिका लागि निक्कै सहयोग गर्छ’, नेताहरू भन्छन्।

