विदेश जान सिफारिश चाहिने प्रस्तावविरुद्ध प्रदर्शन, अध्यागमनको यस्ताे जवाफ


काठमाडौं – महिलालाई विदेश जान सिफारिश चाहिने प्रस्तावविरुद्ध अध्यागमन विभागअगाडि पासपोर्ट बोकेर प्रदर्शन गरिएको छ।

सरकारले प्रस्ताव गरेको नयाँ प्रावधानअनुसार ४० वर्षभन्दा कम उमेरकी महिलाले एक्लै विदेश जान चाहेमा उनले परिवारको सहमति र वडा कार्यालयको सिफारिश बुझाउनुपर्ने व्यवस्था राखिएको छ। अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसा (पर्यटक भिसा)सम्बन्धी व्यवस्था संशोधन प्रस्ताव गृह मन्त्रालय पठाइएको छ।

उमेर हद तोक्ने, सिफारिश खोज्ने, बिमा गराउनेजस्ता नीतिमार्फत् सरकारले महिलाको हिँडडुल गर्न पाउने आधारभूत अधिकारमाथि नै अंकुश लगाउन खोजेको भन्दै अधिकारकर्मीले प्रर्दशन गरेका हुन्।

विभागले पछिल्ला केही दिनयता भिजिट भीसामा जाँदा अनिवार्यरूपमा परिवार र स्थानीय तहको सिफारिस आवश्यक पर्ने गरी निर्णय हुन लागेको भन्ने विषयमा भएको चर्चाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विभागले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाल विभिन्न सञ्चारमाध्यममा आएजस्तो नभई खाडी र अफ्रिकी मुलुकजस्ता जोखिम सम्भाव्य मुलुकमा पहिलोपटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राबारे सामान्य जानकारीसमेत नभएका महिलाका लागि आवश्यक पर्न सक्ने गरी आन्तरिक छानबिन कार्यदलका सुझावका रूपमा आएको विषय हो।

सो विषयमा हालसम्म कुनै निर्णय भएको छैन, सार्वजनिक सरोकारका विषयमा निर्णय गर्दा संविधान प्रदत्त अधिकार, विश्वव्यापी मान्यता, आम जनताको धारणा र कार्यान्वयन सहजतासमेत हेरी नागरिकका मौलिक अधिकार कुण्ठित नहुने गरी निर्णय हुनेछ।’

प्रतिक्रिया