

प्रधानमन्त्री रोजगार कार्यक्रम : बैतडीमा चार हजारलाई रोजगारी

बैतडी : देशभित्रै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्य साथ थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा चार हजारभन्दा बढीले रोजगारी पाएका छन्।
१० वटा स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएकामध्ये चार हजार २८१ जनाले रोजगारी पाएका हुन्। उनीहरुले १०० दिनको रोजगारी पाउने छन्।
सुर्नया गाउँपालिकामा सबैभन्दा बढी ८३३ जनाले रोजगारी पाउने भएका छन्। चार हजार २०० जनाले आवेदन दिएकोमा उनीहरु छनोट भएका रोजगार संयोजक सुरेन्द्र धामीले जानकारी दिए। उक्त कार्यक्रमका लागि चार करोड ३३ लाख रुपैंया निकासा भएको धामीले बताए।
यस्तै, पुर्चौंडी नगरपालिकामा ४५४ जना, पाटन नगरपालिकामा ७६२ जना छनौट भएका छन्। पाटनमा उक्त कार्यक्रमका लागि तीन करोड ९६ लाख बजेट निकासा भएको छ। मेलौली नगरपालिकामा २७१ जना छनौट भएका छन्। मेलौलीमा एक करोड ४४ लाख रुपैयाँ निकासा भएको छ।
यस्तै, दशरथचन्द नगरपालिकामा ४०० जनाले रोजगारी पाउने भएका छन्। यस कार्यक्रमका लागि २ करोड बजेट निकासा भएको छ। डिलाशैनी गाउँपालिकामा ३३४ जना छनोट भएका छन्। यस कार्यक्रमका लागि एक करोड ७२ लाख ६८ हजार रुपैयाँ निकासा भएको छ।
दोगडाकेदार गाउँपालिकामा २७० जना छनोट भएका छन्। यस गाउँपालिकामा उक्त कार्यक्रमका लागि एक करोड ३९ लाख ५७ हजार रुपैयाँ निकासा भएको छ।पञ्चेश्वर गाउँपालिकामा ५३८ र सिगास गाउँपालिकामा ४५१ जना छनोट भएका छन्।
सिगासमा २ करोड १५ लाख ८६ हजार रुपैयाँ रकम विनियोजन भएको छ। शिवनाथ गाउँपालिकामा ४२३ जना छनोट भएका छन्। उक्त कार्यक्रमका लागि २ करोड १८ लाख बजेट निकासा भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत केही स्थानीय तहले काम सुरु गरिसकेका छन् भने केहीले योजना छनौट गरिरहेका जनाइएको छ।

