पूर्व आईजी सिंहको कोपाभजनमा परेका ४ डीएसपीलाई आइजी कुवँरले दिए न्याय


काठमाडाैं – नक्कली भूटानी शरणार्थीको प्रकरणमा वाहवाही कमाएको नेपालकै सबैभन्दा बलियो संगठन नेपाल प्रहरीको बढुवामा पनि न्यायोचित निर्णय विस्तारै देखिन लागेको छ । त्यसको पछिल्लो उदाहरणको रुपमा संगठनले शुक्रबार मात्रै गरेको २२ प्रहरी उपरिक्षक (एसपी)को बढुवा सूचीमा देख्न पाइयो ।

पूर्व आईजी धिरजप्रताप सिंहको कोपभाजनमा परेका उत्कृष्ट प्रहरी नायब उपरिक्षक (डिएसपी) हरु बढुवाका लागि सिफारिस भएसँगै वर्तमान महानिरीक्षक (आईजी) बसन्त कुँवरले धमिलिएको संगठनको साख जोगाउन लागेको आभाष देखिएको छ ।

भ्रष्टाचार र अनियमिततातर्फ उदाहरणीय कार्य सुरु गरेका आईजीले यसअघिका नेतृत्वले गरेको भेदभाव र अन्यायलाई सच्याउँदै संगठनभित्र उत्कृष्ट र योग्य अधिकृतहरुलाई बढुवा सिफारिस गरेर संगठनको साख जोगाउन लागेको संकेत दिएका छन् ।

यसअघिका आईजी सिंहले असार २९ मा बढुवा भएका ०६१ ब्याचका १५ जनामध्ये पहिलो र दोस्रो नम्बरमा रहेका गौतमकुमार केसी र अपिलराज बोहोराका साथै २०६१ ब्याचकी एकमात्र बसुन्धरा खड्का बढुवामा छुटाउँदै उत्कृष्टहरूको ‘घाँटी निमोठेका’ थिए ।

तर शुक्रबार गरिएको २२ जनाको सिफारिसमा वर्तमान आईजी कुँवरले भने न्याय दिँदै बरियताअनुसार बढुवा सिफारिस गरे । जसका कारण संगठनमा योग्य र उत्कृष्ट अधिकृतहरुलाई न्याय गर्ने आशाको किरण आईजी कुँवरले देखाएका छन् ।

पूर्व आईजी सिंहले व्यक्तिगत इगोका साथ अधिकृतहरुलाई सरुवा बढुवामा भेदभाव गर्ने गरेको कतिपय संगठनका अधिकृतहरु नै बताउँछन् । संगठनको नेतृत्व लिने बित्तिकै अपराध नियन्त्रणका लागि उदाहरणीय सुरुवात गरेका आईजी कुँवरको नजरमा उत्कृष्ट ठहरिएका अधिकृतहरु यसअघि बढुवा नहुनुमा पूर्व आईजी सिंहको निहित स्वार्थ थियो भन्ने प्रमाणित हुन्छ ।

त्यसबाहेक यसपटक नेपाल प्रहरीमा ‘सिंघम’ छवि बनाएका डिएसपी कुमुध ढुंगेलले पनि न्याय पाएका छन् । संगठनको अपराध अनुसन्धानमा उत्कृष्ट कार्य गर्दागर्दै पनि केही विवादमा पारिएका डिएसपी ढुंगेललाई यसपटक कुँवरले न्याय दिएका छन्, एसपी बढुवाको सूचीमा समेटेर ।

अपराध अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने कार्यमा उत्कृष्ट कमाण्ड सम्हालेका अधिकृतहरुलाई अन्यायपूर्ण तरिकाबाट बढुवामा छुटाउने पूर्वआईजी सिंहको बद्नियतलाई माथ खुवाउँदै आईजी कुँवरले संगठनमा सुधारको आभाष दिलाउँदै योग्य र कुशल अधिकृतलाई उत्कृष्टताकै आधारमा बढुवा सिफारिस गरेर उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन् ।

पछिल्लोपटक भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री, बहालवाला सचिवलगायतका उच्च पदस्थहरुको अनुसन्धानमा अब्बल र उत्कृष्ट अधिकृतहरुलाई जिम्मेवारी दिएका आईजी कुँवरले एसपी बढुवामा गरेको पछिल्लो निर्णयले संगठनमा चाकडी, चाप्लुसीले होइन योग्यता र उत्कृष्टताले प्राथमिकता पाउँछ भन्ने उदाहरण पेश गरेका छन् ।

बढुवामा न्याय पाएका उत्कृष्ट अधिकृतहरूले मुलुक र संगठनका लागि अझै जिम्मेवारपूर्ण काम गर्ने प्रेरणा पाउनेछन् । जसले गर्दा भावी पुस्ताले पनि उत्कृष्ट काम गरेको खण्डमा संगठन र राष्ट्रले मूल्यांकन गर्छ भन्ने विश्वास लिन सक्दछन् ।

प्रतिक्रिया