

यस्तो बन्यो गण्डकी मन्त्रीपरिषद्, मनाङ्गेको ह्याट्रिक, जिसीले पाए पहिलो सौभाग्य

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
विस्तारित मन्त्रीमा दीपक मनाङ्गे पनि समेटिएका छन् । यसपटक मन्त्री बनेपछि मनाङ्गे तेस्रोपटक मन्त्री बनेका हुन् ।
त्यस्तै नवलपुरबाट निर्वाचित महेन्द्रध्वज जिसी पनि पहिलोपटक मन्त्री बन्ने सौभाग्य पाएका छन् । पञ्चायतकालदेखि संसद्मा उपस्थिति जनाउँदै आएका जिसीले पहिलोपटक प्रदेशमन्त्रीमा मौका पाएका हुन् ।
त्यस्तै नेपाली कांग्रेसका अर्का प्रदेश सभा सदस्य दिपेन्द्रबहादुर थापा पनि मन्त्री बनेका छन् । उनी गत मंसिरमा सम्पन्न निर्वाचनमा बाग्लुङबाट प्रदेशसभामा निर्वाचित भएका थिए ।
त्यस्तै अर्का नयाँ मन्त्री बनेका छन् माओवादी केन्द्रबाट म्याग्दी प्रदेशसभाबाट निर्वाचित भएका रेशमबहादुर जुग्जाली ।
यी चार बाहेक मुख्यमन्त्री पाण्डेले सपथ लिएको बखत नेपाली कांग्रेसकी सरस्वती तिवारी अर्याल र माओवादी केन्द्रकी सुशीला सिंखडालाई मन्त्री मनाएका थिए । उनीहरुले पनि सोही दिन सपथ लिएका थिए । तर मुख्यमन्त्री पाण्डेले अहिलेसम्म कसैलाई पनि मन्त्रालय भने विभाजन गरेका छैनन् ।
पछिल्लो विस्तारित मन्त्रिपरिषद्सँगै गण्डकीमा कांग्रेसबाट मुख्यमन्त्रीसहित चार, माओवादी केन्द्रबाट २ र एकीकृत समाजवादीबाट १ जना मन्त्री बनेका छन् ।

