प्रचण्ड आत्तिसकेका छन्!


काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एउटा खेमालाई सडकमा उतार्न सफल भएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलन तुहिने डरले आत्तिएको प्रतीत गराएका छन्।

विरोध सभामा उनले दिएको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आन्दोलनमा अन्य दल र अन्तर्राष्ट्रिय समुदायले साथ नदिए तुहुने खतरा रहेको उनका अत्याशपूर्ण अभिव्यक्तिले स्पष्ट पारेको छ।

खासगरी विरोध सभालाई सम्बोधन गर्ने क्रममा प्रतिनिधि सभा विघटनको मुद्दा हेरिरहेको सर्वोच्च अदालत, पार्टी विवादको निरुपणको काम हेरिरहेको निर्वाचन आयोगलगायतलाई उनले धम्क्याउनु यसका प्रमाण हुन्।

यति मात्र नभएर उनले ‘ग्रीन रिभोलुशन’को चर्चा गर्दै धम्कीपूर्ण अभिव्यक्ति दिनुलाई कतिपयले अत्यासको मानसिकता रहेको टिप्पणी गरेका छन्। उनले चलाएको आन्दोलनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायत संयुक्त आन्दोलनमा आउन तयार नरहँदा ओलीविरुद्धको आन्दोलन तुहुने निश्चितप्रायः रहेको उनले बुझेका छन्।

तत्कालिन समयमा प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध ६ दिने आन्दोलनमा असफल भएको नमिठो अनुभव सँगालेका उनले फेरि पनि सिंहदरबार र बालुवाटार घेर्ने ‘धमास’ दिनुलाई अर्को संस्करणका रुपमा पनि व्याख्या गरिएको छ।

‘शान्तिपूर्ण आन्दोलनको मोर्चामा आन्दोलनकारी शक्तिसँग अन्यको तालमेल नहुने हो भने एक दलको मात्र प्रदर्शन प्रभावकारी नहुने स्पष्ट छ’, राजनीतिसम्बन्धी एक जना जानकार भन्छन्,‘त्यहाँमाथि प्रचण्ड अहिले एउटा दलको एउटा पंक्तिलाई मात्र लिएर सडकमा छन्।’

यति मात्र होइन उनले भारतलाई त आन्दोलनमा साथ दिन विरोध सभादेखि नै अपिल गरेका थिए। नेपालको अहिलेको राजनीतिक अवस्थामा सिधा हस्तक्षेपको अपेक्षासहित एउटा अन्तरवार्तामा भारतको साथ चाहेको प्रचण्डले बताएका थिए

नेपाली कांग्रेसका नेताहरूले यतिबेला संयुक्त आन्दोलनमा जान नसकिने र अदालतको फैसलाअनुसार चल्ने बताउँदै आएका छन्। एउटा कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले भनेका छन्,‘अहिले कांग्रेस विरोधमा जाँदा पनि एक्लै जान्छ तर संयुक्त आन्दोलनमा जाँदैन। चुनावमा पनि जान सक्छ। कांग्रेसको अनुकुलता हेर्नेछ।’

जनता समाजवादी पार्टीमा पनि आन्दोलनमा जाने या चुनावमा जाने भन्ने दुई धार विभाजित छन्। एक जना नेता राजेन्द्र महतोले संसद पुनःस्थापना हुँदा पार्टीलाई नभएर प्रचण्डलाई मात्र फाइदा हुने बताएका छन्। उनले भनेका छन्,‘यो संविधान नै गलत थियो भनेर हामीले भन्दै आएको हो, संसद पुनःस्थापना हुँदा प्रचण्डको कुर्सी स्थापना हुन्छ, हामी किन आन्दोलनमा जाने?’

आफ्नो आन्दोलनलाई अन्तर्राष्ट्रिय समुदायले ‘नोटिस’मा नलिएपछि त्यसलाई विश्वव्यापी चर्चामा ल्याउनका निम्ति प्रचण्डले नेपालमा रहेका विभिन्न देशका सञ्चारमाध्यममा कार्यरत पत्रकारसँग अन्तरक्रिया गरेका थिए।

यति मात्र होइन उनले भारतलाई त आन्दोलनमा साथ दिन विरोध सभादेखि नै अपिल गरेका थिए। नेपालको अहिलेको राजनीतिक अवस्थामा सिधा हस्तक्षेपको अपेक्षासहित एउटा अन्तरवार्तामा भारतको साथ चाहेको प्रचण्डले बताएका थिए।

तर भारतीय प्रशासनले भने प्रचण्डको यो अपिल र नेपालको अहिलेको राजनीतिक अवस्थालाई खासै चासोका साथ लिएको छैन। बरु, भारतीय सत्तानजिक रहेको मिडियाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति र चरित्रलाई प्रभावकारी रहेको भन्दै प्रचार गरिसकेका छन्।

‘कतैबाट पनि साथ पाउने अवस्था नरहेको देखेपछि दैनिक जसो सभा र आन्दोलन गरी अन्तर्राष्ट्रिय समुदायको ध्यान खिच्ने अभ्यास भइरहेका छन्। खासगरी भारतको ध्यान तान्नेमा प्रचण्ड तल्लिन छन्’, एक राजनीतिक विश्लेषक भन्छन्,‘त्यसका लागि धार्मिक आस्था र विश्वासको विषयलाई पनि बयानबाजीमा ल्याउन थालिएको छ।’

प्रतिक्रिया