प्रहरीको काम कारबाहीलाई थप परिस्कृत गरिने छ : डीआईजी बास्तोला


विराटनगर – कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी (प्रहरी नायव महानिरीक्षक) राजेशनाथ बास्तोलाले नेपाल प्रहरीको काम कारबाहीलाई थप परिस्कृत र प्रभावकारी बनाइने प्रतिवद्धता जनाएका छन्।

जनताको मन जित्ने गरी काम गर्दै अपराध नियन्त्रण एवं अनुसन्धान र अन्य काम कारबाहीलाई प्रहरीले अझ प्रभावकारी बनाएर लैजाने उनको भनाइ छ। विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयमा मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै बास्तोलाले आमनागरिकमा अनुभूति हुने गरी प्रदेशभित्र शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन प्रहरी प्रतिवद्ध रहेको जानकारी दिए।

‘स्वतन्त्रतापूर्वक जिउन पाउने नागरिकको अधिकार रक्षाका लागि प्रहरी संवेदनशील छ। नागरिकलाई वाधारहित सहज जीवनयापनमा प्रहरीले सहजीकरण गर्छ,’ उनले भने, ‘नागरिकको विश्वास जितेर समाजमा हुने विभिन्न अपराध नियन्त्रण गर्नु प्रहरीको दायित्व हो। नागरिकमैत्री सहकार्य एवं साझेदारीले प्रहरीप्रति जनताको विश्वास झनै बढाउने छ।’

शान्ति सुरक्षाको अवस्थालाई मजवुत बनाउँदै अपराध नियन्त्रणका लागि जनसम्पर्क बढाउन प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम र घरदैलो अभियानलाई जारी राखेको जानकारी उनले दिए।

‘प्रहरीले निर्वाह गरिरहेको भूमिकाको अनुभूति नागरिकले गर्न पाएका छन्। गाउँगाउँबाट आपराधिक घटनाको सूचना प्रहरीलाई आउने क्रम बढेको छ,’ बास्तोला भन्छन्, ‘समयमै प्राप्त सूचनाले सम्भावित अपराध रोक्न प्रहरीलाई मद्दत पुगेको छ। अपराध नियन्त्रण र रोकथामका लागि विभिन्न पाटाको विश्लेषण गरेर प्रहरीले काम गरिरहेको छ।’ उनले भारतसँगको खुला सीमाको फाइदा उठाउँदै भन्सार छली एवं तस्करी गरेर राजस्व दोहन गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे।

‘चोरी–पैठारी नियन्त्रण गर्न भन्सार कार्यालय र सशस्त्र प्रहरीको विशेष भूमिका हुन्छ। त्यसमा नेपाल प्रहरीले भरपूर साथ दिएको छ,’ उनले भने, ‘राज्यमाथि दोहोन गरेर राजस्वमारा गतिविधि गर्ने छुट कसैलाई छैन। त्यसलाई रोक्न सबै निकायको उत्तिकै जिम्मेवारी र दायित्व हुन्छ।’

राजस्व दोहन गर्ने प्रवृत्ति सीमा क्षेत्रमा मात्रै नभएर अन्यत्र पनि उत्तिकै रहेको भन्दै डीआईजी बास्तोलाले त्यस्ता अवैध गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन प्रहरीले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे। अपराध नियन्त्रण, अनुसन्धानलगायतका नियमित काम कारबाहीसँगै अपराधरहित समाज निर्माणमा नेपाल प्रहरीले राज्यका अन्य निकायसँग पनि समन्वय गरिरहेको उनको भनाइ छ।

बास्तोलाले नक्कली नोट, हातहतियार, लागूऔषधको कारोबार एवं ओसारपसार, सीमा अपराध, मानव बेचबिखन, राजस्व चुहावट, चोरीलगायतका आपराधिक गतिविधि नियन्त्रण, फरार प्रतिवादी पक्राउ तथा आत्महत्या रोकथाम र विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन आफ्नो कार्यकालको प्राथमिकतामा परेको पनि उल्लेख गरे।

अपराध रोक्न प्रहरीलाई सक्रिय गराउने र नागरिकलाई सुसूचित गराउने काम भइरहेको उनको भनाइ छ। राज्यले दिएको जिम्मेवारी कुशलतापूवर्क ढंगले निर्वाह गर्न उनले प्रहरी कर्मचारीलाई निर्देशनसमेत दिए।

‘प्रहरी आफैँ अपराध नियन्त्रणको महत्वपूर्ण जिम्मेवारी पाएको राज्यको निकाय हो। प्रहरीले आचरण विपरीतका काम गर्न र अपराधमा जोडिन हुँदैन,’ निर्देशन दिँदै डीआईजी बास्तोलाले भने, ‘गलत गतिविधि र कुकर्ममा जोडिने प्रहरीलाई राज्यले स्वीकार गर्दैन। जिम्मेवारीभन्दा बाहिर गएमा तत्काल कारबाही हुन्छ।’

प्रहरीले आचरणविपरीत काम गर्नु अपराध भएको बताउँदै उनले प्रहरीबाट गलत गतिविधि हुँदा सिंगो संगठनलाई नै गम्भीर असर पर्ने उल्लेख गरे। आर्थिक, सामाजिक र नैतिक हिसाबले चरित्रवान नहुने प्रहरी कारबाहीको भागिदार बन्नुपर्ने चेतावनी बास्तोलाले दिएका छन्। उनले विपन्न, अशक्त र पहुँचविहीनको सेवामा समर्पित हुन प्रहरीलाई निर्देशनसमेत दिए।

‘आफूभित्रका कमीकमजोरीलाई अझै सुधार गरेर नागरिकको सेवामा समर्पित हुनु प्रहरीको दायित्व हो,’ डीआईजी बास्तोला भन्छन्, ‘जसका कारण संगठन मजवुत बनेर काम कारबाही प्रभावकारी हुँदा पीडितहरुको न्यायको अनुभूति गर्न पाउँछन्।’ आफ्नो कार्यकालमा फरक किसिमले काम गरेर नागरिकमा प्रहरीप्रति थप विश्वासको वातावरण बनाउने प्रतिवद्धता पनि उनले जनाएका छन्।

पत्रकार भेटघाट कार्यक्रममा कोसी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रमुख एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) राजन अधिकारी, प्रदेश प्रहरी कार्यालयका एसएसपी जयराज सापकोटा, मोरङ प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) दीपक पोखरेल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोसी प्रदेशका प्रमुख एसपी श्यामकुमार महतो, प्रदेश प्रहरी गण विराटनगरका प्रमुख एसपी लक्ष्मीराज अधिकारी, प्रदेश प्रहरी विशेष सुरक्षा गण दुहवीका प्रमुख एसपी विनोद शर्मालगायतका प्रहरी अधिकारी उपस्थित थिए।

त्यस अवसरमा डीएसपी (प्रहरी नायव उपरीक्षक) सुनील दाहालले प्रदेशभित्र प्रहरीबाट सम्पादित काम कारबाही एवं आपराधिक घटनाको त्रिवर्षीय तथ्यांक प्रस्तुत गरेका थिए।

प्रतिक्रिया