पैसाकाे प्रलोभन देखाउँदै अशक्त किशोरीलाई बलात्कार गर्ने व्यक्ति पक्राउ


विराटनगर – मोरङमा बोल्न नसक्ने अशक्त किशोरी बलात्कृत भएकी छन् ।

बेलबारी नगरपालिका-७ की १७ वर्षीया किशोरी आइतबार राति बलात्कृत भएको प्रहरीले जनाएको छ । बलात्कारको आरोपमा विराटनगर महानगरपालिका-८ का २४ वर्षीय प्रवेश बस्नेतलाई प्रहरीले पक्राउ गरिएको छ ।

बस्नेत विराटनगर-बाहुनी चल्ने यात्रुबहाक बसका सह-चालक हुन् । घटना गत आइतबार राति ९:३० बजेतिरको भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।

सह-चालक बस्नेतले पैसा दिने प्रलोभन देखाउँदै बोली नआउने किशोरीलाई मकैबारीतिर लगेर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ । पीडितका बुवाले सोमबार किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

बस्नेतविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन मंगलबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया