

बजार अनुगमन, साढे आठ हजार बराबरको सामान नष्ट

रुकुम (पूर्व) – रुकुम (पूर्व)मा बजार अनुगमनलाई प्रभावकारी तुल्याउन लागिएको छ । सोही सिलसिलामा आज सिस्ने गाउँपालिका–५ स्थित कमल दह क्षेत्र बजारमा अनुगमन गरिएको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, सिस्ने गाउँपालिका र घरेलु तथा साना उद्योग कार्यालयले संयुक्त रुपमा कमल दह क्षेत्रमा रहेका होटेल तथा पसलहरुको अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा रु आठ हजार पाँच सय ६६ बराबरको म्याद गुज्रिएको सामान बरामद गरी नष्ट गरिएको छ । छ वटा होटेल र आठवटा पसलमा अनुगमन गर्दा दालमोठ, कोकाकोला, आटा, जिरा, पापड, हुक्का फ्लेबरलगायत गरी साढे आठ हजार बराबरको म्याद गुज्रिएको सामान बरामद गरी नष्ट गरिएको हो ।
यस्तै, अनुगमनका क्रममा होटेल तथा पसलहरुमा मूल्यसूची नराखेको पाइएको छ । अनुगमनका क्रममा होटेल तथा पसल व्यवसायीहरुलाई मूल्यसूची राख्न निर्देशन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा चालु आर्थिक वर्षमा मात्र जिल्लाको विभिन्न ठाउँमा गरी आठ पटकसम्म अनुगमन गरिएको निमित्त प्रजिअ हिरालाल आचार्यले बताए । घरेलु तथा साना उद्योग कार्यालय र गाउँपालिकाहरुले पनि बेलाबेलामा बजार अनुगमन गरिरहेका छन् ।

