


गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मतका लागि प्रस्ताव पेस

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका छन् । आज (बिहीबार) बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम उनले विश्वासको मत माग गरेका हुन् । माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा कांग्रेस संसदीय दलका नेता पाण्डे गत बिहीबार मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार नियुक्त भएका पाण्डेलाई माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थन छ । सरकारलाई विश्वासको मतका लागि ३१ सांसदको आवश्यक पर्दछ । पाण्डेलाई कांग्रेसका २७, माओवादीका ७ र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन छ ।

