लागुऔषधसहित ९ जना पक्राउ


काठमाडौं – प्रहरीले लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ गरेको छ। मकवानपुर, झापा,कैलालीलगायत विभिन्न जिल्लाबाट लागुऔषधसहित ९ जना पक्राउ गरेको प्रहरीले जनाएको छ।

मकवानपुरको थाहा नगरपालिका-७ आग्रा बस्ने ६७ वर्षीय ईन्द्र बहादुर थिङलाई अवैध लागुऔषध गाँजा १ सय ७५ केजीसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले उनको घरबाट १० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

साथै सोही व्यूरोबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने ७६ वर्षीय भीमबहादुर थिङ र ३९ वर्षीय शिवराज थिङको घरबाट ३० वटा पोकामा रहेको २७ केजी गाँजाको धुलो फेला पारी दुवैजनालाई पक्राउ गरेको छ ।

यस्तै झापा, दमक नगरपालिका-१ दमक फन पार्क नजिकबाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब ८ सय मिलिग्रामसहित कमल गाउँपालिका-६ बस्ने २५ वर्षीय न्युसन राई समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी झापा, दमक नगरपालिका-९ प्रणामी मन्दिर नजिकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय मिलिग्राम,मोबाइल ३ थान, डिजिटल मेसिन १ थान र नगद ६० हजार ७ सय ५० रूपैयाँसहित दुईजनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय अस्बिन राई र अरुण दनुवार रहेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका-१० जुगेडाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-७ बस्ने २२ वर्षीय प्रकाश रानालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलाली,धनगढी उपमहानगरपालिका-१० जुगेडाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१० रानागाउँ बस्ने १६ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया