
निरा हत्या प्रकरण: उत्कृष्ट अनुसन्धान गर्ने १८ प्रहरी पुरस्कृत
काठमाडौं – कपनस्थित सरस्वती नगरमा भाँडा पसल सञ्चालन गर्ने निरा पाण्डेको हत्या गरिएको घटनाको सफल अनुसन्धान गर्ने प्रहरी कर्मचारी पुरस्कृत हुने भएका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आफ्ना १८ जना प्रहरी अधिकृत तथा कर्मचारीलाई रेकर्डमा जनिने गरी पुरस्कृत गरिने भएको हो ।
निरा हत्याको अनुसन्धानमा दत्तचित्त भई खटिएका प्रहरी नायब उपरीक्षक (डीएसपी)हरु अनिल कुमार घिमिरे, सत्यनारायण थापा, किरण न्यौपाने र प्रहरी निरीक्षक (इन्सपेक्टर) निर्मल थापालगायतका १८ जना प्रहरी कर्मचारीलाई रेकर्डमा जनिने गरी मंगलबार सम्मान गरिने कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
अपराध अनुसन्धानमा प्रशंसनीय एवं उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिँदा अन्य प्रहरी कर्मचारीहरूको कार्य सम्पादन स्तरमा समेत सकारात्मक प्रभाव पर्न गई प्रहरी मनोबल उच्च रहने विषयलाई दृष्टिगत गरी पुरस्कृत गर्ने निर्णय गरेको एसपी राठौरले बताए ।
घटनाको अनुसन्धानमा सुरुदेखि नै खटिएका थिए डिएसपी घिमिरे । घिमिरे नेतृत्वको टोलीले नै निरा हत्याका अभियुक्त विनोद विकलाई झापा पुगेर काठमाडौं ल्याएको थियो । त्यस्तै घटनाको अनुसन्धानमा डिएसपीद्वय न्यौपाने, थापा र इन्स्पेक्टरले समेत सहयोग गरेका थिए ।
अभियुक्त भनिएका शंकित व्यक्ति विक झापामा रहेको पत्ता उनीहरुले पत्ता लगाएपछि कार्यालयका प्रमुख बरिष्ठ उपरीक्षक (एसएसपी) मनोज कुमार केसीले डिएसपी घिमिरेलाई तत्काल झापा पठाएका थिए । घिमिरेको साथमा जिल्ला केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का डिएसपी धर्मराज भण्डारीसमेत सँगै गएका थिए ।
काठमाडौंमा निराको हत्या गरी सिक्री लुटपाट गरी भागेका विनोदलाई १७ गते पक्राउ नगरेको भए भारत भागिसकेका हुन्थे । जबकी उनले भारत जाने सबै तयारी पूरा गरिसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर काठमाडौंबाट गएका डिएसपीद्वय घिमिरे र भण्डारीले उनलाई उम्कन दिएनन् ।



कागजपत्र |
