सेनाद्वारा विमानस्थलमा विपद् व्यवस्थापनको पूर्वाभ्यास


काठमाडाैं – नेपाली सेनाले विमानस्थल अवतरण र उडानका बखत आउन सक्ने आकस्मिक चुनौतीको अवस्थामा तत्काल जनशक्ति परिचालन भई कसरी समन्वयमा कार्य सम्पादन गर्ने भनी पूर्र्वाभ्यास गरेको छ ।

विमानस्थलबाट उडेका तथा बाहिरबाट आएका विमान आकस्मिक अवतरण गर्न परेको खण्डमा सेनाका विभिन्न एकाइ र जनशक्तिबीचको समन्वयमा गरिनुपर्ने कार्य र अपनाउनपर्ने सावधानीलाई केन्द्रित गरी पूर्वाभ्यास गरिएको हो ।

पूर्वाभ्यासका क्रममा सुरक्षा दस्ता, दमकलसहितको उद्धार तथा व्यवस्थापन, इन्जिनियर्स र स्वास्थ्य टोलीबीचको समन्वयनमा गरिने कार्यको करिब डेढ घण्टाको उद्धारसम्बन्धी पूर्वाभ्यास गरिएको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

उक्त अभ्यासका क्रममा विमान उडान र अवतरणमा कुनै प्रभाव नपरे पनि त्यस क्षेत्रको सडक यातायातको व्यवस्थापनमा भने केही प्रभाव परेको देखिन्थ्यो ।

छाउनी अस्पतालबाट स्वास्थ्य टोली, महाराजगञ्जमा तैनाथ विशेष बाहिनी, सुन्दरीजलबाट दमकलसहितको व्यवस्थापन टोली इमर्जेन्सी साइरन बजाएर त्यहाँ पुगेकाले पनि साँझको सडक यातायात व्यवस्थापनमा भने केही चाप परेको थियो ।

सेनाले हवाई जहाज अवतरण र उडानसँग सम्बन्धित आपत्कालीन अवस्थामा गरिने विपद् व्यवस्थापनको सफल अभ्यास गरेको प्रवक्ता भण्डारीले बताए ।

प्रतिक्रिया