आईजी कुँवरलाई बहालवाला एसपीको चुनौती !

१८ जनासहित सबैको कार्य सम्पादन मूल्यांकन फारामको विवरण सार्वजनिक गर्नसक्छन् ?


काठमाडौं – शुक्रबार लामो रस्साकस्सीबिच १८ जना प्रहरी उपरीक्षक (एसपी) बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाको लागि सिफारिस भए । बढुवा सिफारिसमा एउटै टोली अर्थात ३ असार २०५६ मा प्रहरी सेवामा प्रवेश गरेका अधिकृतहरु परेका छन् ।

प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार शुक्रबार भएको बढुवा सिफारिस कार्य सम्पादन मूल्यांकनको आधारमा भएको हो । सोहीअनुरुप बढुवा समितिले पर्फरमेन्सको आधारमा १८ जनालाई बढुवा गरेको महानिरीक्षकको सचिवालयको दाबी छ ।

तर, उक्त बढुवा कार्य सम्पादन मूल्यांकनको आधारमा बढुवा नभएको बहालवाला एकजना एसपी बताउँछन् । बढुवामा असन्तुष्टि जनाउँदै एसपी नान्तिराज गुरुङले प्रहरी नेतृत्वलाई कार्य सम्पादन विवरणको फारम सार्वजनिक गर्न चुनौती नै दिएका छन् ।

एसपी गुरुङले अनलाइनन्यूज७ सँगको कुराकानीमा भने, ‘बढुवा समितिले पर्फरमेन्सको आधारमा बढुवा गरेको भनेर गफ नदिए हुन्छ । पर्फरमेन्सको आधारमा नभएर नेताको गोजीबाट सूची निकालेर गरिएको बढुवा हो । यो सब जगजाहेर नै छ ।’

एसपी गुरुङले कार्य सम्पादन मूल्यांकन फारममा सम्पादन गरेको कार्य बुँदागत रुपमा भरेर पेश गरेको समेत बताए । ‘उहाँहरुले बढुवा गरेको व्यक्तिको र मेरो कार्य सम्पादन फारामको विवरण सार्वजनिक गर्न बढुवा समितिलाई चुनौती नै दिन्छु,’ उनले आईजी कुँवरप्रति लक्षित गर्दै भने ।

प्रहरी नेतृत्वले भर्न लगाएको कासमू फारमको कुनै अर्थ नरहेको एसपी गुरुङ बताउँछन् । उनले थपे, ‘अब अन्याय सहेर बस्ने होइन । बोल्न नहुने भन्ने कतै छैन । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नैपर्छ । त्यसको सुरुवात मैले गरेको छु ।’

यसअघि अन्याय सहेर प्रहरी नेतृत्वको अगाडि सधैं पीडित भएर बस्नाले राम्रा प्रहरी अधिकृतहरु झनै पछाडि पर्ने गरेको उदाहरण दिँदै एसपी गुरुङले बढुवामा नेताकै खल्तीको नाम सिफारिस गर्नु थियो भने कासमू फारम किन भर्ना लगाइयो ? भनेर प्रश्न समेत गरे ।

प्रहरी नेतृत्वले भर्न लगाएको कासमू फारमको कुनै अर्थ नरहेको एसपी गुरुङ बताउँछन् । उनले थपे, ‘अब अन्याय सहेर बस्ने होइन । बोल्न नहुने भन्ने कतै छैन । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नैपर्छ । त्यसको सुरुवात मैले गरेको छु ।’

यसअघि बहालवाला प्रहरी अधिकृतले नेतृत्वको कहिल्यै पनि विरोध गरेका थिएनन् । कसैले बोल्ने आँट गर्दैन थिए । कारण थियो – सरुवा र बढुवामा पुनः आईजीले रोक्ने सक्छन् । त्यसैले सरुवा र बढुवालाई मध्यनजर गरेर कतिपय प्रहरी अधिकृतहरु अन्याय हुँदा पनि सहेर बस्ने गरेको प्रशस्त उदाहरणहरु छन् ।

नेपाल प्रहरीमा हुने सरुवा बढुवामा राजनीतिक हस्तक्षेप देखिने गरी हुने गरेका कारण राम्रो काम गर्ने प्रहरी कर्मचारी सरुवा बढुवामा छुट्दैछन् । आईजी कुँवरले अडान लिन नसक्दा संगठनमा अब्बल मानिएका प्रहरी अधिकृतहरु नेतृत्वविरुद्ध नै बोल्न थालेका छन् ।

यसअघि प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवामा असन्तुष्टि जनाउँदै एसएसपी चक्र बहादुर सिंहले समेत आईजी कुँवरलाई चुनौती दिएका थिए । अवकाश पाउन एक साता पनि नरहँदा सिंहले प्रहरी नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा लेखेपछि कुँवरलाई निरिह आईजीको ट्याग भिराइएको थियो ।

आईजी कुँवरले प्रहरी नेतृत्वको कमाण्ड सम्हालेका एक महिना मात्र पुगेको छ । उनले आफ्नो कार्यकालमा राजनीतिक हस्तक्षेप रोक्ने अपेक्षा गरिएको थियो । तर, कुँवरले आफ्नो पद टिकाउनको लागि राजनीतिक दलका नेताहरुको कुरा काट्न नसकेको चर्चा प्रहरी वृत्तमा छ ।

एसएसपी बढुवामा गुरुङकै टोलीका थुप्रै प्रहरी अधिकृत छुटेका छन् । एसपी गुरुङ पनि एसएसपीमा बढुवा भएका टोलीकै हुन् ।

यसअघि २८ माघ २०७५ सालमा एसपी नरेन्द्र उप्रेतीले एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै राजीनामा नै दिएका थिए । काबिल प्रहरी अफिसरको रुपमा चर्चित एसपी उप्रेती त्यतिबेला एसएसपी बढुवाका लागि प्रबल दाबेदार थिए । तर, नाम सिफारिस नभएपछि उनले राजीनामा दिएका थिए ।

प्रतिक्रिया