कहाँबाट परिचालित छन् आईजी कुँवर ?

भगवान् बन्न खोजेका आईजी कुँवर !


काठमाडौं – एक साता लामो रस्साकस्सीका बिच शुक्रबार दिउँसो बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस प्रहरी नियमावलीअनुसार कार्यसम्पादन मूल्यांकन, नेतृत्व क्षमता, बढुवा समितिको अंक, शैक्षिक योग्यता, तालिम, चूनौतीपूर्ण जिम्मेवारी, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव र ज्येष्ठतालाई महत्वपूर्ण आधार मानिन्छ ।

एसएसपी बढुवाको लागि २५ जना मुख्य दाबेदारको रुपमा चर्चामा थिए । जसमध्ये एउटै ब्याचका २४ जना प्रतिस्पर्धामा थिए । जसले गर्दा कसलाई बढुवा गर्ने/नगर्ने भन्ने प्रहरी नेतृत्व र राजनीतिक दलका नेताहरुबीच कुरा नमिल्दा प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

पछिल्लो समय हुने बढुवामा विवादित प्रहरी अधिकृतलाई नसमेट्ने प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले बताउँदै आइरहेका छन् । जसकारण बढुवाको मेरिट लिस्टमा सबैभन्दा माथि रहेका एसपी विमल बस्नेत सूचीमै अटाएनन् ।

५ पुस २०५३ मा राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा आएका बस्नेत २०७४ सालमा एसपी भएका हुन् । त्यसैले पनि उनी मुख्य दाबेदारको रुपमा हेरिएका थिए । तर, पटक–पटक करवाही खाएका बस्नेत निलम्बनमा समेत परेको हुनाले आईजी कुँवरले उनलाई बढुवा सूचीमा समावेश गरेनन् ।

तर, राजनीतिक दलका नेताहरुले आफ्नो मान्छे भन्दै विवादित अधिकृतलाई पनि बढुवा गर्न दबाब दिएको पाइएको छ । राम्रालाई नछाड्ने आईजी कुँवरको रणनीतिले हावा खाएको छ । विवादित व्यक्तिहरुको प्रमोशन हुँदा संगठनमा इमान्दार र सक्षम व्यक्तिहरु भने पछि परेका छन् ।

२७ जेठ २०७५ मा एसपी भएका २४ जनामध्ये १५ नम्बरमा थिए एसपी रवि कुमार पौडेल । उनै पौडेललाई सौदाबाजी गरेर आईजी कुँवरले बढुवामा छोडेका छन् । एक नम्बरदेखि सिरियल १७ नम्बरसम्म सबैजना बढुवा हुँदा पौडेल माथी भने अन्याय भएको देखिन्छ ।

प्रहरी संगठनमा इमान्दार र कर्तव्यनिष्ठ प्रहरी अधिकृतको पहिचान बनाएका एसपी पौडेललाई बढुवा नगरेर आईजी कुँवर पुनः विवादमा तानिएका हुन् । चितवन घर भएका पौडेललाई मात्र नभएर आईजी कुँवरले अरु काबिल अफिसरलाई समेत छुटाएका छन् ।

त्यस्तै प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट एसपी बढुवामा पछाडि पारिएका बसन्त रजौरे समेत शुक्रबारको बढुवा सूचीमा अटाएका छैनन् । प्रहरी संगठनमा काबिल अफिसर मानिएका रजौरेको नाम पनि सिफारिस आईजी कुँवरले नै नगरेको स्रोत बताउँछ ।

प्रहरीमा इमान्दार भन्दा नेताका कारिन्दाहरु नै हावी हुने यो बढुवाले पनि पुष्टि भएको छ । कार्यक्षमतामा कमजोर र केही विवादास्पद अधिकृतहरु समेत बढुवा सिफारिस हुँदा इमान्दार छवी भएका अधिकृत छुटेपछि महानिरीक्षक कुँवर पनि विवादमा परेका हुन् ।

यो बढुवामा शक्ति केन्द्र नधाउने अधिकृतलाई ‘नियतबस’ छुटाएको आरोप कुँवरमाथि लागेको छ । एकजना विवादित अधिकृतलाई बढुवा नगरेर संगठनभित्र भगवान बन्न खोजेको आईजी कुँवरसमेत यसअघिकै प्रहरी नेतृत्वहरुको बाटोमा हिँड्न थालेको बताइन्छ ।

यसअघि काबिल अफिसरको रुपमा चिनिएका एसएसपी चक्र बहादुर सिंहलाई समेत अन्याय गरेको आरोप कुँवरमाथि लागेको छ । आईजीको कमाण्ड सम्हालेका एक महिनामै बढुवामा पारदर्शीता अपनाउन नसकेपछि कुँवरको चर्को आलोचना हुन थालेको छ ।

बढुवा पारदर्शी नभएको भन्दै आईजी कुँवरप्रति खुल्ला रुपमै संगठनमै रहँदा एसएसपी सिंहले आक्रोश पोखेका थिए । जबकी संगठनमै रहेर नेतृत्व आलोचना कमैले गर्छन् । तर, सिंहले उनलाई चुनौती नै दिएका थिए ।

०००

शुक्रबारको एसएसपी बढुवामा पहिलो नम्बरमा विश्व अधिकारी अटाएका छन् । त्यस्तै दोस्रोमा भुपेन्द्र खत्री, तेस्रोमा सानुराम भट्टराई, चौथोमा ओमप्रसाद अधिकारी, पाँचौमा शेखर खनाल, छैटौंमा अबि नारायण काफ्ले र सातौंमा सोमेन्द्र सिंह राठौर बढुवा भएका छन् ।

त्यस्तै क्रमशः मुकुन्द मरासिनी, दीप शम्शेर जबरा, बेल बहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रविण पोख्रेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर,  विश्वमणि पोख्रेल, तारादेवी थापा र प्रज्वल महर्जन बढुवा सूचीमा अटाएका छन् ।

प्रतिक्रिया