

पाल्पामा २ जनाको मृत्यु

तानसेन – पाल्पामा बिहीबार दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार एक जनाको भीरबाट लडेर र अर्काको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।
बगनासकाली गाउँपालिका-७ खहरेखोलाका ४० वर्षीय केशवबहादुर बुढाथोकीको घर नजिकैको खहरेखोला भिरबाट लडेर मृत्यु भएको हो।
बुढाथोकी बिहीबार बिहान ३ बजे घरबाट हिँडेका थिए। बुढाथोकी भीरबाट १ सय ५० मिटर तल खसेका थिए। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
तिनाउ गाउँपालिका-३ तिनाउ नदीको बुटवल पावर हाउसको ड्याममा पौडी खेल्ने क्रममा बुधबारदेखि बेपत्ता रहेका एक किशोर मृत फेला परेका छन्।
सिद्धार्थ नगरपालिका-८, गल्लामण्डीका १७ वर्षीय शिशिर उपाध्याय सोही ठाउँमा मृत फेला परेका हुन्। दुवै घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

