


आफ्नै साथीलाई सामूहिक कुटपिट गर्ने १३ बालिका पक्राउ

मोरङ – मोरङमा आफ्नै सहपाठीलाई सामूहिक कुटपिट गर्ने १३ जना बालिकाहरू पक्राउ परेका छन्।
सोमबार पक्राउ परेका उनीहरूविरुद्ध मंगलबार ज्यान मार्ने उद्योग कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जनकुमार दाहालले जानकारी दिए।
डीएसपी दाहालका अनुसार वैशाख ६ गते दिउँसो १२ः३० बजे मिक्लाजुङ गाउँपालिका–३ स्थित कालिका माध्यमिक विद्यालयमा अध्ययन गर्ने १४ वर्षीया बालिकालाई उनीहरूले सामूहिक कुटपिट गरेका थिए। कुटपिटमा संलग्नहरू कुटिएकी बालिकाकै सहपाठी हुन्।
विद्यालयमा रहेकै समय एकै स्थान बसोबास गर्ने १३ बालिकाले सामूहिक कुटपिट गरेको भिडियोसमेत खिचेर सामाजिक सञ्जालमा शेयर गरेका थिए।
इलाका प्रहरी कार्यालय, उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
‘सामान्य विषयलाई लिएर संगठित रूपमा कुटपिट गरेको देखिन्छ। पक्राउ परेका सबै बालिकाहरू १८ वर्षभन्दा मुनिका छन्,’ डीएसपी दाहालले भने।
कुटपिटमा परेकी बालिकाको विर्तामोस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ।

